मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने तीन पार्टीबीच सहमति भएको छ ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनमत पार्टीबीच नयाँ सरकार गठनका लागि बिहीबार सहमति भएको हो । सहमतिपत्रमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी संसदीय दलका नेता भरतप्रसाद शाह र जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् । तीनै दलबीच जनमतको नेतृत्वमा सरकार गठन गर्ने तय भएको छ । आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँड गरिने जनाइएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एकीकृत समाजवादी)लाई पनि समेट्ने सहमति पत्रमा उल्लेख गरिएको छ। तीनै दलले शुक्रबार प्रदेश प्रमुखलाई भेट्ने जनाएका छन् । अहिले मधेशमा जनता समाजवादी पार्टी (जसपा), नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन् । उनलाई सघाएका एमाले र माओवादीले समर्थन फिर्ता लिइसकेका छन् ।
प्रदेश सभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादीका नौ, लोसपाका आठ, एकीकृत समाजवादीका सात, नागरिक उन्मुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादीका एक-एक सांसद छन् । १०७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५४ सांसद आवश्यक पर्छ ।