कोशी, बागमती, गण्डकी र लुम्बिनी सहित मधेश प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ ।
विगत केही दिन देखि मनसुन न्यून चापीय रेखाका कारण देशभर मनसुन सक्रिय हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाले २० गते बिहीबारसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही हल्का मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै कोशी, गण्डकी र लुम्बिनीको एक दुई स्थानमा धेरै वर्षको समेत सम्भावना रहेको जानकारी गराएको छ ।
सूचनामा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित भारी वर्षको सम्भावना रहेकाले उक्त स्थानमा सतर्क रहन अनुरोध गरेको छ ।
महाशाखाले बिहीबारसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजिवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।