चितवनमा पहिरोले बस बगाएको घटनामा पर्साको सखुवाप्रसौनी गाउँपालिकाका एकै परिवारका तीनजना बेपता भएका छन् ।
सखुवा प्रसौनि गाउँपालिका वडा नम्बर २ जमुनियाका एकै परिवारका बाबु आमा र उनकी छोरी रहेकी छन् । बेपता हुनेमा मूल घरकै अभिभावक रहेका ५५ वर्षीय हृदयनारायण राउत थारू, उनकी श्रीमती ५० वर्षीय भगवती देवि र उनकी छोरी २२ वर्षीय चन्द्रप्रभा कुमारी रहेकी छिन् । छोरीको उपचार गराउनका लागी काठमाडौँ जान लागेका तीनैजना शुक्रबार विहीन चितवनमा गएको पहिरोले बस बगाउँदा सम्पर्क विहीन भएका हुन् ।
पर्साको रंगपुरबाट हिँडेको बस प्रसौनी आइपुग्दा छोरा जयलालले तीनैजनालाई बस चढाएका थिए । बस त्यहाँबाट मनवा हुँदै बहुअर्वा, रामनगरी बिन्दवासिनी हुँदै वीरगंजबाट राति ८ बजे काठमाडौंका लागि हिँडेका थिए ।
छोरी चन्द्रप्रभा कुमारी पेट दुख्ने र लिभरमा समस्याले ग्रसित थिइन् । पैसा अभावले विदेशमा रहेको दाइले बोनसमा कमाउलान् र पठाउलान् भन्ने आशमा लामो समय देखी उपचार गराउन पर्खिबसेकी थिइन् । तर केहिदिनदेखि अचानक छोरीको पेट दुख्ने र बेला बेला पखाला लाग्ने समस्या अत्याधिक बढेकाले छोरीको उपचार गराउन आफुसंग भएको ७ कठा खेत सोधभर्ना राखेर बाबु हृदयनारायण र आमा भगवती चौधरीले छोरी चन्द्रप्रभालाई लगेकी हुने । आर्थिक समस्याले पैसा अभावमा बाँचिरहेका हृदयनारायण थारू परिवार रोपिसकेको ७ कठा खेत सोधभर्ना राखेर एक ढेडलाख रूपैया बोकेर छोरीको उपचारका लागि राजधानी गएको उनका १८ वर्षीय छोरा जयलाल राउतले बताए ।
बेपता हृदयनारायण राउत थारूको ४ छोरा र १ छोरी थिए । चार छोरा मध्ये जेठो ३० वर्षीय श्याम विनय राउत वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा कार्यरत छन् । भने त्यस्तै माइलो २२ वर्षीय ओमप्रकाश राउत, साइलो २० वर्षीय काईलो १८ वर्षीय जयलाल राउत थारू र कान्छो चन्दन राउत थारू रहेका छन् । जेठो छोरो विदेशमा छन् भने बाँकि तिनै दाजुभाई वीरगंजका विभिन्न विद्यालयमा अध्ययनरत रहेका छन् । बावु र आमाको कमाईले घरमा खान लाउन धउधउ परेको बेला एकै परिवारका मुल नै बेपता भएको बेला सिङ्गो गाऊ चिन्तामा डुबेको सोही वडाका वडा वडा सदस्य छोटेलाल पासवानले बताए ।
घरको मुल व्यक्ति नै पहिरोमा परेर वेपता परेपछि हृदयनारायणका छोराहरू बिचल्लीमा परेका छन् ।
तीनवटै दाजुभाइको पढेर ठुलो बन्ने सपना भने साकार पार्न स्थानीय सरकारले अग्रसरता लिनुपर्ने स्थानीहरू बताउँछन् । भएको खेत सोधभर्ना राखेपछि थारु परिवारमा खानलाउन र तीनवटै छोरा पढ्न सकस हुने देखिन्छ । यता बेपता तीनैजनालाई खोजी गरिदिन परिवारजनले सरकार समक्ष माग गरेको छ ।