सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ । ९ एन–एएमई सीआरजे-७ विमान आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए ।
विमान दुर्घटनामा सौर्य एअरलाइन्सका ५ जना उच्च व्यवस्थापक समेत परेको खुलेको छ । काठमाडौँबाट पोखरा उड्न लागेको जहाज बिहान ११ बजेर ११ मिनेटमा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा आफ्नो कम्पनीका ५ जना उच्च तहका व्यवस्थापक परेको एक कर्मचारीले बताए । उनका अनुसार एअरलाइन्सका सुरक्षा प्रमुख सागर कुमार आचार्य, सीएएमओ म्यानेजर अश्वीनकुमार निरौला, मेन्टेनेन्स म्यानेजर यज्ञप्रसाद पौड्याल, अपरेसन चिफ क्याप्टेन मनिषरत्न शाक्य र एयरलाइन्सका क्वालिटी एस्युरेन्स प्रमुख दीलिप बर्मा दुर्घटनामा परेका जहाजमा सवार थिए ।
दुर्घटनामा परेको सौर्य एयरलाइन्सको ९ एन–एएमई जहाज २१ वर्ष ४ महिना उडिसकेको विमान रहेकाे खुलेको छ । क्यानडाको मोन्ट्रियलमा बनेको याे जहाज सुरुमा अमेरिकाको एट्लान्टिक कस्ट एयरलाइन्सले मे २००३ मा किनेको थियाे । त्यसपिछ विमानको स्वामित्व अगस्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्स एयरले लिएको थियो । जुन २००७ सम्म इन्डिपेन्डेन्स एयरले उडाएको यो विमान त्यसपछि नाइजेरियाको एरिक एयरले किन्यो । एरिकपछि अप्रिल २००८ मा दक्षिण अफ्रिकाको साउथ अफ्रिकन एक्सप्रेसको स्वामित्वमा पुग्यो ।
करिब १० वर्ष साउथ अफ्रिकन एक्सप्रेसले उडाएको यो विमान जनवरी २०१७ मा अमेरिकाका लिजिङ कम्पनी एरोलिजले किन्यो । मार्च २०१७ मा सौर्य एयरलाइन्सले यसलाई खरिद गरेर नेपाल ल्याएको थियो । सौर्यले यो विमान उडाउन थालेको ६ वर्ष भइसकेको थियो । सौर्यले लिएपछि यसको कलसाइन ९ एन–एएमई राखिएको थियो ।
२१ वर्ष ४ महिनादेखि यात्रु सेवामा रहेको यो विमान इन्जिन परीक्षणका लागि बिहीबार काठमाडौंबाट पोखरा विमानस्थल जाँदै गर्दा दुर्घटनामा परेको छ । जसमा १८ जनाले ज्यान गुमाएका छन् । जसमध्ये क्याप्टेन मनिषरत्न शाक्यबाहेक सबैको निधन भएको छ । क्याप्टेन शाक्यको भने दुर्घटनापछि उद्धार गरेर सिनामंगलको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।