तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि कुनै पनि प्रकारको प्रतिशोधपूर्ण कारबाही भएमा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरूको बाँकी बक्यौता असुल गर्न पहलकदमी लिइरहेको बेला मोर्चाले यस्तो चेतावनी दिएको हो । मोर्चाले जारी गरेको विज्ञप्तिमा उद्योगीहरूले प्रिमियम शुल्क नतिरेको रकम असुल गर्ने कार्यमा अग्रसर भएका कार्यकारी निर्देशक घिसिङलाई कारबाही गरिएमा प्रतिरोधात्मक कदम चालिने बताइएको छ ।
मोर्चाका केन्द्रीय अध्यक्ष डिल्लीमान तामाङ र महासचिव लिलाकुमार घलानद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, "विद्युत प्राधिकरणको उठ्न बाँकी रकम असुल उपर गर्न पहलकदमी लिइरहेका कार्यकारी निर्देशक घिसिङलाई प्रतिशोधपूर्ण ढंगले कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाएको खण्डमा हाम्रो मोर्चा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छ ।"
घिसिङले मुलुकलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गराएको, विद्युत निर्यातबाट वैदेशिक मुद्रा आर्जन गरेको, र विद्युत महशुल नतिर्ने उद्योगहरूको झण्डै २२ अर्ब बक्यौता रकम असुलीको प्रयासमा अडिग रहेको स्मरण गर्दै मोर्चाले भनेको छ, "कार्यकारी निर्देशक घिसिङको ऐतिहासिक योगदानलाई अवमूल्यन हुनेगरी कुनै पनि निर्णय नगर्नका लागि हाम्रो मोर्चा सरकारको ध्यानकर्षण गराउन चाहन्छ ।"
साथै, मोर्चाले प्राधिकरणको तिर्न बाँकी बक्यौता उद्योगीहरूले नतिरेसम्म विद्युत उपभोग गरिरहेका आम नागरिकले पनि कुनै पनि बक्यौता नतिरीकन आन्दोलनमा ऐक्वेबद्धता जनाउन अपिल गरेको छ ।