राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको कारण उच्च जोखिममा रहेका क्षेत्रमा रात्रि बस नचलाउन सचेत गराएको छ।
जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा हुने प्रक्षेपण गरेको छ। यस क्रममा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ३४ जिल्लामा बाढी र पहिरोको जोखिम उच्च रहेको जनाइएको छ।
विभागले ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व, लमजुङ, गोरखा, कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची, रूकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीलाई उच्च जोखिममा राखेको छ।
प्राधिकरणले जोखिमयुक्त जिल्लाका नागरिकलाई सुरक्षित आश्रयस्थलमा सार्न र जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको छ। साथै, सुरक्षा निकायलाई विपद्को तयारी अवस्थामा रहन आग्रह गरेको छ ।