अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित तीनजनालाई बुधबार दिउँसो प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ का ४६ वर्षीय महेश मान महर्जन, टोखा नगरपालिका-१० का ४९ वर्षीय मानव आचार्य, र काठमाडौं महानगरपालिका-१४ का ३० वर्षीय दिपेश भुषाल रहेका छन् ।
उनीहरूलाई थाई एयरवेजको उडानद्वारा बैंकक जान लाग्दा अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्दा विभिन्न विदेशी मुद्रा सहित फेला पारी पक्राउ गरिएको हो। महेश मानको साथबाट युरो १६,५५० र क्यानेडियन डलर १०,९००, मानव आचार्यको साथबाट युरो ८,९५० र थाई भाट ३,६६० तथा दिपेश भुषालको साथबाट युरो १३,४००, स्विस फ्रान्क २,४००, क्यानेडियन डलर ४,५००, साउदी रियाल १९,०००, थाई भाट २,००० र जापानी येन ४,९०,००० बरामद भएको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको छ ।