प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेलाई नेपालको हवाई सुरक्षा सुधारका लागि सुझाव पत्र पठाएकी छन् ।
पत्रमा उनले हवाई क्षेत्रको सुरक्षाका लागि आवश्यक सुधार र नीतिगत पहलहरूको शीघ्र कार्यान्वयनको आग्रह गर्दै सुझाव प्रस्तुत गरेकी छन् । श्रेष्ठले पत्रमा उल्लेख गरेअनुसार, “नेपालको हवाई सुरक्षाको अवस्थालाई सुधार्नका लागि हामीले बिभिन्न आयोग र प्रतिवेदनहरूलाई गम्भीरतासाथ अवलोकन गर्नुपर्छ । हरेक घटनापछि आयोग गठन गर्ने र त्यसको सिफारिस कार्यान्वयन नगर्ने चक्र दोहोरिने हो भने थप आयोगको आर्थिक भार जनतामाथि नपार्न अनुरोध छ ।”
उनले हवाई उडानमा मौसम पूर्वानुमानको महत्त्वलाई जोड दिँदै जल तथा मौसम विज्ञान विभागमा जनशक्ति अभाव समस्याको समाधान गर्नुपर्ने सुझाव दिइन्। साथै, ICAO को न्यूनतम मौसम पूर्वानुमान मापदण्ड पूरा गर्न र त्रिभुवन विमानस्थलका Met deficiencies शीघ्र समाधान गर्नुपर्ने परामर्श पनि दिएकी छन् ।
त्यसैगरी, CAAN लाई छुट्ट्याउने र विमान दुर्घटना अनुसन्धानका लागि स्थायी संयन्त्रको विकास गर्ने आवश्यकता रहेको उनले स्पष्ट पारेकी छन्। CAAN को वर्तमान संरचनामा सुधार आवश्यक रहेको भन्दै, युरोपेली युनियनको कालोसूचीमा रहेका नेपालका हवाई कम्पनीहरूलाई सुधारका लागि कडा कदम चाल्नुपर्ने पनि पत्रमा उल्लेख गरेकी छन् ।
सांसद सुमना श्रेष्ठले पत्रमा “हवाई सुरक्षा समस्याका समाधानका लागि केवल अध्ययन मात्रै होइन, ती समाधानलाई कार्यान्वयन गर्नका लागि ठोस योजना र तालिका निर्माण गर्नुपर्छ। प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र मन्त्री बद्रीप्रसाद पाण्डेको दृढ प्रतिबद्धता आवश्यक छ ।”
उनको पत्रसहित उपलब्ध प्रतिवेदनको समीक्षा र सुझावहरूको कार्यान्वयनलाई प्राथमिकता दिन आग्रह गरेकी छन् ।