पर्सा राष्ट्रिय निकुञ्जको मध्यभागमा पर्ने घना जंगल र चुरे पहाडको टाकुरामा दुग्धेश्वर नाथ महादेव मन्दिर अर्थात (भाथा धाम) अवस्थीत छ ।
पर्सा जिल्लाका लागी मात्रै नभई मधेश प्रदेश कै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य स्थलमा विकास हुदैँ गएको छ । हाल श्रावणमा लाग्ने भगवान शिवको दर्शनका लागी यहाँ भारतको बिहार र युपीसम्मका भक्तजनहरूको आगमनले थेगी नसक्ने भिड लागेको छ । पर्सा राष्ट्रिय निकुञ्ज आधाभार कार्यालयदेखि करिव २८ किलोमिटर पश्चिममा र वीरगंजदेखी ४२ किलोमिटर पश्चिम उत्तरमा अवस्थीत यस मन्दीरमा बर्षेनी चार पटकसम्म मेला लाग्ने गरेको छ । त्यसमध्ये श्रावणमा दुग्धेश्वर नाथ महादेवको दर्शनका लागी यहाँ भत्तजनहरुको भिड लागेको छ ।
देशको प्रवेशद्वारा पर्सा जिल्लाको सदरमुकाम वीरगंज, ग्रामिण भेगको भिष्वा, ठोरी, जानकीटोला र सिर्सिया नाका हुदैँ भारतीयहरु र देशको विभिन्न ठाउँका नेपाली श्रदालु भत्तजनहरुको आउने ताती लागेको छ । हजारौको संख्यामा टाटासुमो, ब्लोरो तथा निजी सवारी साधन सहित ट्याक्टर, मोटरसाईकल लगायतबाट दुग्धेश्वर नाथ महादेव मन्दिर (भाथा मेला) आइरहेका छन् । सयौँ वर्षदेखि श्रदालुहरूले कच्ची रोड र विभिन्न जङ्गलका मार्गहरू पार गर्दै यहाँ दर्शन गर्न आउने परम्परा रहेको छ ।
पर्सा जिल्लाको क्षेत्र नम्बर तीनको पटेर्वा सुगौली गाऊँपालिका अन्तर्गतमा पर्नेे हाल विस्तारित राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने दुग्धेश्वर नाथ महादेवको भाथा मेलाले भारतको प्रमुख शिवालय तिर्थस्थल हरु भन्दा नजिकैको भाथा धाम आउन सजिलो हुन थालको छ । भारतको केदारनाथ, बद्रीनाथ, काशी विश्वनाथ, महाकालेश्वर र सोमनाथ लगायतको दर्शन गर्न जाने तिर्थयात्रीहरु केहीवर्ष यता नजिकैको दुग्धेश्वर नाथ महादेव दर्शन गर्न आउने गरेका छन् ।
नेपाल र भारतका विभिन्न स्थानबाट प्रत्येक सोमबार दशौँ हजारको संख्यामा भक्तजनहरू दुग्धेश्वर नाथ महादेवको दर्शन गर्न आउने गरेको छ । विशेष गरी, साउन महिनामा भक्तजनहरूको अत्यधिक भिड हुने दुग्धेश्वर नाथ महादेव मन्दिरमा माघको श्रीपञ्चमी, फागुनको शिवरात्री, र वैशाखमा पर्ने नेपालीहरुको नयाँ वर्षको अवसरमा यहाँ मेला लाग्ने परम्परा रहदै आएको छ ।
परापुर्वक कालदेखी यहाँ साउन महीनाभरी आफ्ना पुर्वजहरु जल अर्पण गर्न आउने गरेको मन्दिरका पुजारी बताउँछन् । यस्तै राजाको पालामा समेत यहाँ हेलिकप्तर मार्फत दर्शन गर्न आउने गरेको पाइन्छ । जसका लागी मन्दीर छेउमै पहाड फोडेर हेलिप्याड समेत बनाइएको छ । जुन अहिलेसम्म यथावत रहेको छ । एकदशक अगाडी निकुञ्ज क्षेत्रको विस्तारसंगै विगतमा रहेको भाथा गाउँ अन्यत्र बस्ती व्यवस्थापन गरेसंगै यस धार्मिक आस्थाको केन्द्र बन्दै गएको पर्यटकीय गन्तव्य माथी अंकुश लगाउन थालिएको छ । एकदशक अघि निकुञ्ज क्षेत्रको विस्तारले पर्सा राष्ट्रिय निकुञ्जमा दुग्धेश्वरनाथ महादेव परेपछि सेनाले प्रत्येक मेलामा बखेडा गर्न थालेकाले सोचे अनुरुप दुग्धेश्वर नाथ मन्दीर भाथा धामको रुपमा विकास हुन नसकेको मेला व्यवस्थापन समिति बताउँछन् ।
मन्दिरको धार्मिक महत्व र निकुञ्ज प्रशासनबीचको विवादले मेलामा आउने भक्तजनहरूलाई सास्ती हुने गरेको छ । मेला समितिले निकुञ्ज क्षेत्रमा पर्ने मन्दिरको सुरक्षाका लागि भक्तजनहरूलाई राती चारभैया पोष्टमा नै रोक्नुपर्ने बाध्यता रहेको छ । भने, तोकिएको समयभित्र मन्दिर क्षेत्रमा प्रवेश गर्नेहरूलाई भने खासै समस्या नरहेपनी साझ ६ बजेपछि र विहान ६ बजेसम्म कोहिलाई आउन जान दिइदैन् । मेलास्थल निकुञ्जको कोर एरियामा पर्ने भएकाले वन्यजन्तुको आक्रमणको जोखिम पनि बढ्ने गरेको छ । मेला समितिका अध्यक्ष गेनालाल राउत पटेलले स्थानीय सरकारको थोरै सहयोग भए पनि प्रदेश र केन्द्र सरकारले मन्दिरलाई प्राथमिकतामा नराखेको गुनासो गर्छन् । स्थानीय तह पटेर्वा सुगौली गाऊँपालिकाको मात्रै सहयोगले यत्रो ठुलो धाम विकास गर्न सम्भव नरहेको उनि बताउँछन् । मन्दिरको भौतिक संरचना निर्माण गर्ने विषयमा निकुञ्ज प्रशासनले आपत्ति जनाउँदा मेला समिति र निकुञ्ज प्रशासनबीच लामो समयदेखि विवाद रहदै आएको छ । विवादका बावजुद तीनतल्ले विश्राम स्थाल बनाइएको त छ तर कुनैपनी कोठा निर्माण गर्न सकेको छैन् । श्रदालुहरु रातभर खुल्ला अकाश मुनि, खोला किनारमा सुत्ने गरेको छ भने, बेला बेलामा आउने बर्खाले रातभर खोत लाग्ने ठाउँ समेत छैन् । मेला समितले भत्तजनको सुरक्षाका लागी आफ्नै खर्चमा २४ सौँ घण्टा जर्नेटर र रातभर वाकीटाकी सहितको २१ जना पहरेदार खटाएको छ । त्यस्तै हाती, बाघ, भालु लगायत धपाउन भत्तजन आश्रमस्थलमा रातभर डोजरले पहरेदारी गरिने गरेको व्यवस्थापक समिति बताउँछन् । श्रदालु भत्तजनको आस्थालाई मध्य नजर गर्दै चन्दा, सहयोग लगायतले आश्रय स्थलका लागी एउटा बाँसको झुपडी बनाउदाँ समेत सेनाले एसएलआर तेर्साउने गरेको व्यवस्थापन समितिको तितो अनुभव छ । यस अवस्थामा धार्मीक स्थलको कसरी विकास हुने उनिहरुको प्रश्न छ । हाल तीन नम्बर क्षेत्रबाटै प्रदेश र संघिय गरी ३÷३ जना मन्त्री भएका छन् । क्षेत्र नम्बर तीनका सांसद राजकुमार गुप्ता, प्रदेशमा जनार्धन सिंह क्षेत्री सहित अर्का एकजना राज्यमन्त्री समेत बनेका छन् तर हालसम्म यस धामको विकासका लागी कुनै प्याकेज बजेटमा वा मौखिक रुपमा समेत घोषणा गरेका छैनन् ।
नेपालमा मात्रै नभई विभिन्न देशमा विभिन्न धार्मिक स्थलहरु कतिपय यस्तै घना जङ्गल, अग्लो पहाडमा अवस्थीत छन् तर त्यहाँको सरकारले भत्तजन श्रदालुको धार्मिक भावनालाई कदर गर्दै सहजताका लागी विभिन्न प्रबन्धहरु मिलाएका हुन्छन् । हाम्रै छिमेकी मुलुक भारतमा समेत यस्ता कयौँ तिर्थस्थलहरुको बाटोघाटो, यातायात, खानेपनी, सञ्चार लगायतको व्यवस्था मिलाएको हुन्छ तर दुग्धेश्वर नाथ महादेव (भाथा मेला) को हकमा भने सरकारको उपेक्षा मात्रै नभई प्रदेश र केन्द्रबाट झनै बखेडा झिक्ने काम गरेको व्यवस्थापन समितिको आरोप रहेको छ । धार्मिक भावनालाई चोट नर्पुयाईकन मेला अवधिभर चाल्न सकिने सडक, खानेपानी र बासस्थानको प्रबन्ध मिलाईदिए कयनले यहाँ रोजगार पाउने दुग्धेश्वर नाथ महादेव मन्दिरका मुख्य पुजारी शिव चौधरी थारुको भनाई रहेको छ ।
उनले दुग्धेश्वर मन्दिरलाई पर्यटकीय क्षेत्र घोषणा गरी विकास गर्न सके आम्दानीमा पनि वृद्धि हुने थियो । यसअघि कतिपटक मेला लगाउन नदिने सेनाले प्रयास गरेपनि कयन प्रयासका विच विग्त दुईवर्षदेखी भने मेला लाग्दै आएको व्यवस्थापक समिति बताउँछन् । हुन पनी लामो समयदेखि जारी परम्परा जोडिएकाले कुनै पनि खालको प्रतिबन्ध दिर्घकालिन समाधान हुन सक्दैन् । तर यता सेनाले भने, जङ्गली जनावर हाती, बाघ, भालु लगायतको बासस्थानको प्रमुख स्थान रहेकाले राष्ट्रिय निकुञ्ज जोगाउनु हाम्रो सरोकार रहेकाले रोक लगाइने गरेको बताउँदै आएका छन् ।
कोरोना कालमा मात्रै दर्शनार्थी घटेको यस दुग्धेश्वर नाथ महादेव मन्दिर (भाथा मेला) मा श्रद्धालुहरूको संख्या ह्वात्तै बढेको छ । ठूला धार्मिक जमघटलाई मध्य नजर गर्दै हालका लागी पिच सहितको बाटो, खानेपानी, शौचालय, र राती सुत्ने व्यवस्थापनको मात्रै प्रबन्ध मिलाई दिए सावन अवधी भरीमा मात्रै ५० लाख तिर्थयात्री यहाँ ल्याउन सकिने मेला व्यवस्थापन समितिको भनाई रहेको छ ।
दुग्धेश्वर मन्दिरको दीर्घकालीन विकासका लागि तीन तहको सरकारको सहकार्य जरुरी छ । व्यक्तिगत आध्यात्मिक उन्नति र धार्मिक कर्तव्यसँग गहिरो सम्बन्ध राख्न भत्तजनहरु धार्मिक तिर्थस्थलमा पुग्ने गर्दछ, यस्ता स्थलहरूले व्यक्तिलाई धर्म, संस्कृति र परंम्परासँग जोड्न मद्दत गर्छ । दुग्धेश्वर नाथ महादेव मन्दिर (भाथा मेला) पुगेर आत्मसमर्पण, भक्ति, र साधना गर्ने अवसर पाउँछन् । विभिन्न मनोकाक्ष लिएर आएका भत्तजनले शिवको प्रसाद, गाजाँ धतुर, भक्ति भजन, शान्ति, समर्पण, र ध्यानको अनुभव गर्छन । जसबाट व्यक्तिको धार्मिक अनुभवलाई गहिरो बनाउँछ । त्यसले पनी यस दुग्धेश्वर नाथ महादेव (भाथा) लाई धाम तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न जरुरी देखिन्छ ।