बहुदरमाई नगरपालिका पर्साका सचेत नागरिक समाजले मेयर सिंगासन साह तेलीलाई ज्ञापन पत्र बुझाउँदै विभिन्न समस्याहरूको तत्काल समाधान गर्न माग गरेका छन् ।
उक्त ज्ञापन पत्रमा नगरपालिकामा समयमा नगर परिषद् नहुँदा हुन सक्ने असरहरूको बारेमा चेतावनी दिदै ज्ञापन पत्र बुझाएको युवा नेता राकेस यादवले जानकारी गराएको छ । ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार, समयमै नगर परिषद् नहुँदा विकासका कामहरू अवरुद्ध हुने, बजेट कटौती हुने, समानिकरण अनुदान प्राप्त नहुने र खाता सञ्चालनमा समस्या उत्पन्न हुने खतरा औलाइएको छ । ज्ञापन पत्रमा समाजिक सुरक्षा, आर्थिक सहयोग जस्ता महत्त्वपूर्ण कार्यहरू रोकिएको बारेमा अवगत गराएको छ ।
सचेत नागरिक समाजले नगरपालिकाले विकास निर्माणका कार्यहरू समयमा सम्पन्न नगरेको आरोप लगाउँदै, सिंचाई व्यवस्थामा सुधारको माग गरेका छन् । कुलोमा आधारित सिंचाई व्यवस्थालाई प्राथमिकता दिँदै डिप वोरिङ्ग र ट्युवेलको मात्र भर परेर समाधान नखोज्न नगरपालिकालाई आग्रह गरेको नेता राकेस यादवले बताए । स्थानीय सचेत नागरिकहरुको टोलिले प्रत्येक विद्यालयमा गुणस्तरीय शिक्षकको व्यवस्था गर्नुपर्ने, सार्वजनिक जग्गामा वृक्षारोपणको कार्यलाई प्राथमिकता दिनुपर्ने र स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माणमा ढिलाइ बारे समेत प्रश्न उठाएका छन् ।
यसैगरी नगरपालिकामा भएका विकास निर्माण कार्यहरूको अनुगमन गरी मर्मत सम्भारको कार्य नियमित रूपमा हुने सुनिश्चित गर्न पनि माग गरेका छन् । साथै, स्वास्थ्य चौकी, विद्यालय लगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरूको कार्यक्षमता र प्रभावकारीता जाँच गर्न आग्रह गरेका छन् । ज्ञापन पत्रमा, नगरपालिकाको विभिन्न बजेट निर्माणका कार्यहरू गोप्य राखिएको र जनप्रतिनिधिहरूले आफ्नो निजी स्वार्थ पूरा गर्न बजेटको दुरुपयोग गरेको आरोप पनि लगाइएको छ ।
यस प्रकारका क्रियाकलापहरूलाई रोक्न सचेत नागरिक समाजले निगरानी सशक्त बनाउने चेतावनी समेत दिएका छन् ।