वीरगञ्ज -राजस्व विभागको प्रमुख बन्न सहसचिव सुमन दाहाल र मदन दाहालबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
यी दुई अधिकारीहरू आफूलाई शक्तिकेन्द्रको आडमा राख्दै राजस्व अनुसन्धान विभागको महानिर्देशक पद प्राप्त गर्न तिव्र चलखेलमा जुटिरहेका छन्। यो प्रतिस्पर्धामा उनीहरूले बिभिन्न शक्तिकेन्द्रहरूलाई आर्थिक प्रस्तावहरू अघि सारेर आफ्नो नियुक्ति सुनिश्चित गर्न प्रयास गरिरहेका छन्।
सुमन दाहालको नाम वीरगञ्ज भन्सारमा रहँदा विवादमा तानिएको थियो। उनी भन्सार छली, तस्करहरूसँग मिलोमतो र अकुत सम्पत्ति आर्जनमा संलग्न रहेको आरोपमा परेका छन्। उनले वीरगञ्ज भन्सार प्रमुखको रूपमा काम गर्दा तस्करहरूसँगको साँठगाँठमार्फत् ठूला मात्रामा अवैध कारोबारमा सहयोग गरेको आरोपहरू विभिन्न स्रोतहरूले लगाएका छन्।
सुमन दाहालले ठूला करदाता कार्यालय, अर्थ मन्त्रालयका आकर्षक विभागहरूमा रहँदा पनि आर्थिक फाइदा उठाउनका लागि आफ्नो पदको दुरुपयोग गरेको भनाइ छ। उनको विरुद्ध विभिन्न समयमा राजस्व छली र आर्थिक अनियमितताको उजुरीहरू परेका छन्, जसले उनलाई विवादास्पद पात्रको रूपमा चिनाएको छ।
मदन दाहाल पनि राजस्व विभागमा काम गर्दा विवादमा मुछिएका पात्र हुन्। उनी १३ वर्ष अधिकृत र १२ वर्ष उपसचिवको रूपमा राजस्व विभागमा कार्यरत रहे। विशेष गरी, राजस्व अनुसन्धान विभागको महानिर्देशकको रूपमा तीन महिनाको अवधिमा, उनले तस्करहरूसँग मिलेर अकुत सम्पत्ति आर्जन गरेको आरोप छ।
राजस्व छली र अनियमिततामा उनको संलग्नता भएको आरोप दाबी गरिएको छ। यो पदमा रहँदा उनले आर्थिक फाइदा उठाउन तस्करहरूसँग साँठगाँठ गरेको विभिन्न स्रोतहरूले बताएका छन्।
सुमन दाहाल र मदन दाहाल दुवैले राजस्व विभागको शीर्ष स्थान पाउन शक्तिकेन्द्रहरूको आडमा चलखेल गरिरहेका छन्। उनीहरूले उच्च पदमा नियुक्ति प्राप्त गर्न आर्थिक प्रस्तावहरू बोकेर शक्तिकेन्द्रहरू धाइरहेको स्रोतहरूले बताएका छन्। यी दुई सहसचिवहरू मालदार अड्डामा रहनका लागि आफ्नो राजनीतिक सम्पर्क र शक्ति प्रयोग गरिरहेका छन्। उनीहरूको प्रतिस्पर्धाले राजस्व विभागमा नेतृत्त्व परिवर्तनको चर्चा चुलिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने यी दुई सहसचिवहरूको विगतका गतिविधिहरूबारे विवादास्पद सूचना प्राप्त भएको बताइएको छ। प्रधानमन्त्रीले राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागको प्रमुखमा स्वच्छ छविका पात्रहरूको खोजी गरिरहेका छन्।
उनी शक्तिकेन्द्रहरूको दबाबमा नपरी, विगतमा विवादमा नतानिएका व्यक्तिहरूलाई यी महत्वपूर्ण पदहरूमा ल्याउन इच्छुक छन्। यसैकारण, दुवै सहसचिवको नियुक्तिमा अन्यौलता छाएको छ, र प्रधानमन्त्रीले नयाँ पात्रको खोजीमा ध्यान केन्द्रित गरेका छन्।