वीरगञ्ज – विवादास्पद सुनचाँदी व्यापारी बच्चा साह सोनार पर्सा सुनचाँदी व्यवसायी संघको उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा छन्।
उनी श्रावण ३२ गते हुने संघको चौथो अधिवेशनमा प्रवेश कुमार सर्राफको प्यानलबाट उम्मेदवारी घोषणा गरेका छन् र व्यवसायीहरूसँग भोट मागिरहेका छन्।
बच्चा साह सोनार, जसको वास्तविक नाम राम नरेश साह सोनार हो, भारतमा बच्चा साह र नेपालमा राम नरेश साहको नामबाट नागरिकता प्राप्त गरेका छन्। उनी सुनचाँदी व्यवसायको आवरणमा विभिन्न अवैध गतिविधिहरूमा संलग्न रहेको आरोप छ। छोटो समयमै करोडौंको सम्पत्ति आर्जन गरेका बच्चा सोनारले नेपाली नागरिकता नक्कली कागजातमार्फत लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय पर्सा र गृह मन्त्रालयमा उजुरी परेको थियो। तर, उनले पैसाको प्रभावका कारण कानूनी कारवाहीबाट जोगिन सफल भएका छन्।
बच्चा सोनारले अवैध कारोबारबाट आर्जन गरेको अकूत सम्पत्ति बारे सम्पत्ति शुद्धिकरण विभागमा उजुरी परेको छ। तर, उनले विभागलाई प्रभावित पारेर कारवाहीबाट उम्किन सफल भएका छन्। यसरी, बच्चा सोनारले आर्थिक प्रभावको प्रयोग गरी विभिन्न सरकारी निकायलाई प्रभावित पार्न सफल भएका छन्।
नेपालमा राम नरेश साहको नाममा नागरिकता प्राप्त गरेका बच्चा सोनारका छोरा सन्दीप सरार्फले पनि लागुऔषध कारोबारमा संलग्न भएको आरोप छ। हाल बच्चा सोनार र उनका परिवारको विभिन्न अवैध गतिविधिहरूको बारेमा जानकारी प्राप्त भएको छ।
वीरगञ्जको माईस्थान ३ नम्बर रोडमा रहेको "आर.के. एण्ड सन्स" नामक सुनचाँदी कारोवार गर्ने पसलको आडमा अवैध धन्दा चलिरहेको खुलासा भएको छ। २०८० साल पुस १७ गते आन्तरिक राजस्व कार्यालयको टोलीले उक्त पसलमा छापा मारेर विभिन्न कागजात र बिलहरू नियन्त्रणमा लिएको थियो। यस क्रममा सन्दीप सरार्फलाई १७ करोड ९५ लाख जरिवाना गरिएको थियो। हाल सन्दीप सरार्फ फरार छन् र प्रहरीले उनको खोजतलास जारी राखेको छ।
बच्चा सोनारले उपाध्यक्ष पदमा उम्मेदवारी दिएर आफ्नो अवैध सम्पत्ति सुरक्षित राख्न र व्यवसायी संघमा शक्तिशाली भूमिकामा रहनका लागि उम्मेदवारी दिएका छन्। उनले आर्थिक प्रभावको प्रयोग गरेर विभिन्न सरकारी निकायलाई समेत प्रभावित पार्दै आएका छन्। यसले उनको विवादास्पद छवि र अवैध गतिविधिहरूको पृष्ठभूमिमा अझ बढी संदेह थपिएको छ।