काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
गुणस्तर पुष्टि हुन नसकेपछि महानगरले यो जरिवाना गरेको निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए । महानगरपालिकाले तेलको गुणस्तरबारे गुनासो आएपछि असार ७ गते कम्पनीसँग विवरण माग गरेको थियो । सोही विवरणका आधारमा तयार गरिएको प्राविधिक विश्लेषण प्रतिवेदन अनुसार गुणस्तर पुष्टि हुन नसकेकाले जरिवाना गरिएको उनले बताए ।
कारबाहीको आधार: गुणस्तरीयता प्रमाणित गर्न असफल
महानगरले श्रीकेश कम्पनीलाई कारबाही गर्ने आधार गुणस्तरीयता सम्बन्धी प्रतिवेदन हो ।
प्रतिवेदनमा ‘गुड म्यानुफ्याक्चरिङ् प्राक्टिस (जिएमपी)’ को अभाव देखिएको छ। इण्डष्ट्रीको नाममा प्राप्त आइओइएस प्रमाणपत्र उत्पादित तेलमा प्रयोग भएको पाइएको छ, जुन नियमविपरीत रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा तेलमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थहरूको प्रयोगशाला परीक्षण अपुरो रहेको, सबै उत्पादनमा एउटै ब्याच नम्बर राखिएको, र प्रयोगशाला प्रतिवेदनमा सूक्ष्म जीवाणु परिमाण बढ्दै गएको देखिएको उल्लेख छ ।
तेलको लेबलमा उल्लेख फाइदाहरू (जस्तै, कपाल नझर्ने, नयाँ कपाल उमार्ने, चाया रोक्ने) पुष्टि हुने कुनै क्लिनिकल ट्रायल, प्रयोगशाला विश्लेषण वा जर्नलमा प्रकाशित प्रमाण नदेखिएकोले भ्रम सिर्जना हुने शब्दहरूको प्रयोग गरिएको पाइएको छ।
थप कारबाहीको तयारी
महानगरपालिकाले श्रीकेशको थप कारबाहीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाउने निर्णय गरेको छ ।
महानगरको कारबाहीले गुणस्तरीयता कायम राख्न र उपभोक्ताको सुरक्षाका लागि तेल उत्पादन उद्योगमा सुधार ल्याउन मद्दत पुर्याउने विश्वास लिइएको छ ।