जिल्ला अस्पताल बाजुरामा सिटामोल सहित २९ प्रकारका औषधिको अभाव भएको छ ।
सिटामोल जस्ता सामान्य औषधिहरू अभाव हुँदा सर्वसाधारण महँगो मूल्य तिरेर निजी मेडिकलबाट औषधि किन्न बाध्य भएका छन् । अस्पतालका सूचना अधिकारी नृप गिरीका अनुसार अस्पतालमा मौसमी ज्वरो, रुघाखोकी, पखाला, दम, प्रेसर लगायतका बिरामीको चाप छ । तर, अस्पतालमा सिटामोल, एसिलक सिडिजेट, मेट्रोनलगायतका औषधिहरू अभाव हुँदा बिरामीले सास्ती भोग्नुपरेको छ ।
सरकारले जिल्ला अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क दिने व्यवस्था गरेको भए पनि हाल बाजुरा अस्पतालमा ती मध्ये अधिकांश औषधि उपलब्ध छैनन् । सुदूरपश्चिम प्रदेश सरकारले औषधि खरिदका लागि गत वर्ष १० लाख रुपैयाँ दिएको भए पनि बजेट अपुग भएको र यस वर्ष बजेट नै नआउँदा औषधि अभावको समस्या चर्किएको अस्पताल प्रशासनको गुनासो छ । बजेट अभावका कारण नयाँ औषधि खरिद गर्न नसकिएको र पुरानो औषधि पनि सकिएको गिरीले बताए ।
अस्पतालमा १८ जना कर्मचारीको दरबन्दी भए पनि हाल १० जनाले मात्र सेवा दिइरहेका छन् । बिरामी भर्ना पुर्जा, रगत परीक्षण, एक्सरे, भिडियो एक्सरे, ल्याब सेवाबाट उठेको शुल्कले केही कर्मचारीको तलब व्यवस्थापन गरिएको भए पनि जनशक्ति अपुग रहेको अस्पताल प्रशासनले जनाएको छ ।
सेवा सुधारको माग गर्दै स्थानीयहरूले अस्पतालमा बजेटको व्यवस्था र औषधिको उपलब्धता सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन् ।