वीरगंज महानगरपालिकाका प्रमुख र उप-प्रमुखप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नेबि संघ पर्साका सचिव फिरोज अन्सारीले तीव्र आलोचना गरेका छन् ।
उनले चुनाव अघि गरिएको विकासको वाचा पूरा नगरेको भन्दै जनप्रतिनिधिहरूप्रति आक्रोश पोखेका हुन् । अन्सारीले प्रमुख र उप-प्रमुखले चुनाव अघि वीरगंजको विकासको लागि ठूलो-ठूलो दावी गरे पनि कार्यान्वयनमा नदेखिएको बताएको छ । ‘चुनाव अघि म यो गर्छु, म त्यो गर्छु भन्दै हावादारी कुरा गर्नु भएको थियो । तर, आज नगरवासीले भोगिरहेका बेतिथिहरूले प्रमाणित गर्छ कि ती सबै कुरा केवल चुनावी प्रचारका लागि मात्र थिए’ अन्सारीले सामाजिक संजालमार्फत लेखेका छन् ।
उनले प्रमुख र उप-प्रमुखबीचको ‘सेटिंङ’लाई नगरवासीका समस्याको प्रमुख कारण ठहर गरेका छन्। उनले चेतावनी दिँदै भनेका छन्, ‘ अर्को चुनावमा जनताले तपाईहरूलाई घरदैलो कार्यक्रमबाटै लखेट्ने समय नआओस् । तपाईहरूले सुशासन नबुझेको हो कि महानगरमा सुशासन कायम गर्न नचाहेको हो ?’
वडा नम्बर १२ मा बस्ने एक गरिब, असहाय व्यक्ति, जो विभिन्न रोगबाट पिडित र आर्थिक समस्यामा छन्, उनले स्वास्थ्य उपचारका लागि करिब एक वर्षअघि महानगरमा आर्थिक सहयोगका लागि निवेदन दिएका थिए । उक्त निवेदनमा अहिले सम्म कुनै सुनुवाइ भएको छैन । ‘म आफैँ स्वयम् निजको साथमा थिएँ, तर मलाई थाहा थिएन कि कमिसन बढी दिनेको काम छिट्टै हुन्छ र असल जरुरतमन्दको काम गर्न एक वर्ष लाग्छ’ ।
यता वीरगंज महानगरपालिकाले साहिब दरबारलाई मिटिङहल निर्माणका लागी १० लाख, पशुपति आदर्श क्लबलाई ६ लाख, सल्लाहकार स्वकिय सचिवलाई ३ लाख ९३ हजार गरी विभिन्न संघसंस्थालाई ८१ लाख ८४ हजार बाडेका छन् ।
यसैगरी अन्सारीले महानगरका नेताहरूमा न त कुनै स्पष्ट भिजन रहेको, न त जनताका लागि केहि गर्ने योजना रहेको आरोप लगाएका छन् । ‘एउटा असहायको शिक्षा र स्वास्थ्य सुनिश्चित गर्नु राज्यको जिम्मेवारी होइन र’ उनले प्रश्न गरेका छन् । उनका अनुसार महानगर अहिले भ्रष्टाचार र कमिसनमा दिनदिनै डुबिरहेको छ । ‘वीरगंजकै इतिहासमा यस्ता असफल मेयर र उप–मेयर कहिल्यै नपाओस्,' अन्सारीले आक्रोश व्यक्त गरेका छन् ।
अन्सारीले आगामी निर्वाचनमा जनताले आवश्यक परिवर्तन गर्ने आशा र भरोसा व्यक्त गरेका छन् । ‘तपाईंहरू दुबै जनालाई आफ्नो मत दिएर सबैभन्दा ठूलो राजनीतिक गल्ती गरेको महसुस हुँदैछ’ ।