संविधान दिवसको अवसरमा नेपाल सरकारले फौजदारी अभियोगमा ५० प्रतिशत सजाय भुक्तान गरिसकेका १२ जना कैदीबन्दीलाई रिहा गर्ने तयारी गरेको छ ।
असोज ३ गते हुने संविधान दिवसको अवसरमा रिहा गरिने कैदीहरूको सूची गृह मन्त्रालय अन्तर्गत कारागार व्यवस्थापन विभागले तयार पारेको हो । कारागार व्यवस्थापन विभागका निर्देशक कमल पाण्डेका अनुसार ज्येष्ठ नागरिक, अशक्त महिला, र बालबालिकाको हकमा कैदी जीवन बिताइरहेकाहरुलाई नेपालको संविधान अनुसार छुट दिने निर्णय भएको छ ।
वीरगंज कारागारबाट रिहा हुने १२ जनामा कलैया–३ निवासी उमेशकुमार (मुद्रा अपचलन), वीरगंज महानगरपालिका–१४ निवासी महमद तारिफ हुसेन अन्सारी (चोरी), जीतपुरसिमरा उपमहानगर–१९ निवासी विनय चौधरी (बहुविवाह), बारा निजगढ नगरपालिका–६ का रामहवी राना (चोरी), बहुदरमाई नगरपालिका–३ निवासी नेकमहमद (बहुविवाह), भरतपुर महानगरपालिका–१० का मानबहादुर घलान (गैंडा मारेको) रहेका छन् ।
यसैगरी, बिहार पश्चिमी चम्पारण बैरिया निवासी छदु महतो (गैंडा मारेको), बारा पचरौता–८ निवासी अमरराय यादव (हातहतियार), बारा परवानीपुर–३ निवासी ओमप्रकाश साह (खोटाचलन), बिहार पश्चिमी चम्पारण निवासी जियाउल रहमान (चोरी), वीरगंज महानगरपालिका–१५ निवासी बिक्की सर्राफ (डाँका) र दोलखा निवासी कृष्णबहादुर दाहाल (डाँका) समेत ५० प्रतिशत सजाय भुक्तान गरिसकेकाले कैद मुक्त हुने भएका छन् ।
नेपाल सरकारले संविधान दिवसको अवसरमा यस प्रकारको निर्णय गर्दै देशभरिका कैदीबन्दीहरू मध्येबाट केहिलाई कैद मिन्हा हुने प्रावधान रहेकाे छ ।