वीरगंजको आदर्शनगरस्थित केडिया परिवारको नाममा रहेको जग्गाको किर्ते गरी विक्री गरिएको विषयमा नापी तथा मालपोत कार्यालय पर्साले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
मालपोत कार्यालयले असली जग्गाधनी केडिया परिवारको हक कायम गराउनका लागि अनुसन्धान प्रक्रिया सुरु गरेको हो । अनुसन्धानको लागि मालपोत कार्यालय पर्साको पत्रको आधारमा नापी कार्यालय पर्साले यसअघि सर्वेक्षक संजय झालाई जिम्मेवारी दिएको थियाे तर जग्गा बेचबिखनमा ठुलो गिरोह संलग्न रहेको आशंकामा अनुसन्धान प्रक्रिया स्थगित गरी आइतबार संयुक्त टोली बनाएर थप अनुसन्धानको जिम्मेवारी तोकिएको छ ।
नापी अधिकृत बब्लु पाण्डेको नेतृत्वमा ४ सदस्यीय अनुसन्धान टोली बनाइएको छ जसमा सर्वेक्षक राम प्रमोद राउत, संजय झा, र मोहन राय रहेका छन्। सो टोली भदौ २६ गते फिल्डमा खटिने गरी जिम्मेवारी तोकिएको छ ।आइतबार नै नापी कार्यालय पर्साले वीरगंज महानगरपालिकालाई साबिक श्रीपुर ९, ख किता नं १४ र १५ को जग्गा आदर्शनगर विस्तारको क्रममा अधिग्रहणमा परेको वा नपरेको यकिन गर्न पत्राचार गरेको छ । साथै, बुधबार हुने नाप नक्साका लागि वडा नं १३ मा पर्ने किता नं १५ र वडा नं १३ मा पर्ने किता नं १४ को विषयमा सम्बन्धित वडा कार्यालयका अध्यक्ष तथा वीरगंज महानगरपालिकालाई उपस्थितिका लागि पत्राचार गरिएको सर्वेक्षक संजय झाले जानकारी दिए ।
रुकमनी देवी केडियाको नाममा २०२६ सालदेखि रहेको उक्त जग्गा हालसम्म उनकै नाममा मालपोत कार्यालयमा दर्ता रहेको छ । २०२९ सालमा सरकारले वीरगंजको विभिन्न गाउँ पञ्चायतको जग्गा अधिग्रहण गरेको भए पनि केडिया परिवारको जग्गा अधिग्रहणमा परेको थिएन । तर त्कालिन वीरगंज नगरपालिकाको वडा नं. ५ मा रहेको जग्गालाई भिडाएर शम्भु प्रसाद कलवार (लक्ष्मी सुमेश्वर) ले तत्कालिन एक नम्बर गोश्वाराबाट स्वबासीमा नाम आफ्नो नाममा पारेर विक्री गरेको खुलेको छ । सोही जग्गा २०५८ सालमा किर्ते गरी किता नम्बर १४ को ९ कठ्ठा र किता नम्बर १५ को २ कठ्ठा ६ धुर गरी जम्मा ११ कठ्ठा ६ धुर नापी र श्रेष्ता कायम गरेर स्ववासी दर्ता गराइएको थियो । विभिन्न व्यक्ति हुँदै उक्त जग्गा बैंकहरूलाई बेचेको र सोको अनुमानित मूल्य करिब सवा अर्ब रुपैयाँ रहेको छ । हाल उक्त जग्गामा नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, पुजन होटल, कन्ट्रीइन होटल र महालक्ष्मी डेकोरेशन रहेको देखिन्छ ।
उक्त जग्गाको हक कायम गराउन रुकमनी देवी केडियाका नाती प्रदीप कुमार केडिया लागिपरेका छन् ।
सम्बन्धित समाचार