जनकपुरधाम उपमहानगरपालिका–२४ का वडाध्यक्ष, वडासचिव र कार्यालय सहयोगी चार लाख घुससहित पक्राउ परेका छन् ।
घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा वडाध्यक्ष उपेन्द्र सहनी र वडा सचिव उपेन्द्र साहले सहयोगी विजय मण्डल पक्राउ गरेकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिएका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नियन्त्रणमा लिएको हो ।
वडाध्यक्ष उपेन्द्र सहनी नेकपा एमालेबाट निर्वाचित भएका हुन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । घुस प्रकरणमा वडाध्यक्ष, वडासचिव र कार्यालय सहयोगीको संलग्नता देखिएपछि अख्तियारको टोलीले छापा मारी उनीहरुलाई नियन्त्रणमा लिएको हो । वडाध्यक्ष सहनीको यसअघि पनि विवादास्पद गतिविधिमा संलग्न रहेको देखिन्छ ।
यसअघि, जनकपुरधाम–२४ स्थित बसहिया गाउँको जदुराउत पोखरीको ऐलानी डिलमा वडाध्यक्ष सहनीले जातीय धर्मशाला बनाउन खोज्दा स्थानीयले विरोध गरेका थिए । विरोधपछि वडाध्यक्ष सहनीसहित प्रमोद सहनी, चन्दन सहनी, शिवरत्न सहनी लगायतको समूहले सुनिल यादव, सुरुज यादव, अमीर्ती देवी, अजय राउत लगायतका करिब एक दर्जन व्यक्तिलाई निर्घात कुटपिट गरेका थिए । यस घटनापछि उनीहरूमाथि अभद्र व्यवहार तथा कुटपिट मुद्दा दर्ता गरिएको थियो ।
जनकपुरधाम उपमहानगरपालिका मै यसअघि पनी वडा नं. -११ का वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ परेका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई ५० हजार रूपैयाँ घुससहित चैतमा पक्राउ गरेको थियाे ।
उनीहरूले जग्गा सम्बन्धी विवादीत विषय मिलाइदिने भन्दै घुस लिएका थिए ।