नारायणी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीचको सहकार्यमा विस्तारित क्यान्सर उपचार सेवाको आज औपचारिक उद्घाटन भएको छ ।
नारायणी अस्पतालमा सुरु गरिएको क्यान्सर उपचार सेवाको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य सेवा गुणस्तरीय बनाउन सरकार लागिपरेको बताएका छन् । मन्त्री पौडेलले अत्याधुनिक प्रविधिसहितको अस्पतालका लागि नारायणी अस्पताललाई छनोट गरिएको जानकारी दिए । उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकारी अस्पतालमा एक से एक प्रख्यात स्वास्थ्यकर्मी हुँदा पनि सरकारी सेवाप्रति अनावश्यक टीकाटिप्पणी हुने गरेकोमा दुःख व्यक्त गरे । उनले देशको आर्थिक अवस्था नाजुक भएकाले जनशक्ति थप गर्न नसकिएको बताए ।
सेवाहरू प्रविधिकरण गर्ने चुनौती रहेकाले अनलाइनमार्फत भुक्तानी तथा रिपोर्ट प्राप्त गर्ने प्रविधि छिटोभन्दा छिटो लागू गर्नुपर्नेमा पनि जोड दिए । नारायणी अस्पतालमा सुरु गरिएको क्यान्सर उपचार सेवाका लागि भक्तपुर क्यान्सर अस्पतालबाट हालका लागि मेडिकल अंकोलोजिस्टसहित दुई जना चिकित्सक खटाइने जानकारी मन्त्री पौडेलले गराए ।
उनले नारायणी अस्पताललाई चिनजानको आधारमा भर्ना गर्ने केन्द्र नबनाउन आग्रह गर्दै प्रतिस्पर्धात्मक ढंगले नियुक्त गर्नुपर्नेमा जोड दिए। साथै, अस्पतालको आम्दानी र खर्च दुवै सार्वजनिक गर्न निर्देशन दिँदै मन्त्री पौडेलले आधुनिक युगमा अस्पतालको क्षमता, भर्ना संख्या, र खाली बेडको जानकारी सामाजिक सञ्जालमा राख्नुपर्ने बताए ।
स्वास्थ्यसहित सबै मन्त्रालयले बढीभन्दा बढी सेवा दिनुपर्ने भएकाले त्यसअनुरूप काम गर्न चिकित्सक तथा कर्मचारीलाई निर्देशनसमेत दिए । नारायणी अस्पतालमा क्यान्सर रोगको स्क्रिनिङ, डाइग्नोसिस, किमोथेरापी, पल्लिएटिभ केयर, रिफरल, काउन्सिलिङ लगायतका सेवा सुरु गरिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य मन्त्रालयका गुणस्तर तथा मापन शाखाका प्रमुख डा. मदन कुमार उपाध्याय, प्रदेशसभा सदस्य श्याम पटेल, वीरगञ्ज उपमहानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, नारायणी अस्पतालका निम्त मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हक, वीरगञ्ज महानगर सभापति मणिन्द्रलाल नेपाली लगायतको उपस्थिति रहेको थियो ।