वीरगंजको आदर्शनगरस्थित हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड गराउने नेशनल इन्फोटेक कलेज (एनआई कलेज) ले क्याम्पसलाई १२ लाख रुपैयाँ क्षतिपूर्ति तिरेको छ ।
कक्षा १२ को जारी परीक्षामा चिट चोर्न नपाएको भन्दै परीक्षार्थीहरूलाई उचालेर २०८१ साल वैशाख १६ गते आइतबार क्याम्पसमा तोडफोड गरिएको थियो । तोडफोडका क्रममा एनआई कलेजका परीक्षार्थीहरूले क्याम्पस परिसरमा रहेको विभिन्न बस, १२ थान मोटरसाइकल, ल्याबका सामान र कक्षाकोठाका झ्यालको सिसा लगायतका समान तोडफोड गराएकाे थियाे ।
हरिखेतान क्याम्पस प्रशासनका अनुसार सुरुवातमा तोडफोडबाट ४३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदन बुझाइएको थियो । त्यसपछि पुनः जिल्ला प्रशासन कार्यालयको रोहबरमा क्षतिको मुल्यांकन गरी ३९ लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरिएको थियो । त्यसलाइ जिल्ला प्रशासन कार्यालय पर्साले २७ लाख रुपैयाँ क्षतिपूर्ति दिने भने पनि अन्ततः १२ लाख रुपैयाँ नगद ल्याएर क्याम्पसका सल्लाहकार समेत रहेका जयप्रकाश खेतानले बुझाएको बताए ।
क्याम्पस प्रमुख किशोरी राय यादवका अनुसार सरकारी वकिलको कार्यालय लगायतका निकायहरूले हाम्रै अगाडी २९ लाख रुपैयाँ क्षतिपूर्ति पाउने आश्वासन दिएको थियो । क्याम्पस प्रशासनले उक्त रकम पर्याप्त नभएको जनाउँदै आएपनी क्याम्पसका सल्लाहकार जयप्रकाश खेतानले जिल्ला प्रहरी कार्यालय मार्फत मध्यस्थता गर्दै एनआई कलेजले नगद १२ लाख रुपैयाँ दिएको भन्दै हामीलाइ ल्याएर नगद बुझाएको क्याम्पस प्रमुख यादवले बताए । क्याम्पसकाे खातामा जम्मा गर्नुपर्ने रकम नगद दिएकाे क्याम्पस प्रमुख यादवले बताए ।
जयप्रकाश खेतानका अनुसार जिल्ला प्रहरी कार्यालयमा भएको छलफलपछि एनआई कलेजका प्रतिनिधिहरूले १२ लाख रुपैयाँ मात्रै दिने सहमति गरेकाले १२ लाख नगद बुझाइएको बताए ।
क्याम्पस प्रमुख यादवले प्राप्त रकमले तोडफोडबाट भएका सम्पूर्ण क्षतिका सामान जुटाउन नसकिने बताए । सामुदायिक क्याम्पस भएकाले उचित मूल्यांकन हुनुपर्नेमा मूल्यांकन पर्याप्त नभएको उनको भनाइ छ । यादवले भने, "म आफैँले निवेदन दिए पनि सहमति कहिँकतै गरेको छैन। नभए क्षतिपूर्तिको रकम १२ लाखमा सहमति गर्थेन् ।"