वीरगंज महानगरपालिकाको २२ र २३ नम्बर वडा जोड्ने सर्वोत्तम स्टिल हुँदै लालपर्सा मिलन चौक जाने मुख्य सडक बाढीले बगाएर महीनौं बितिसक्दा पनि मर्मत कार्य हुन सकेको छैन ।
बाढीले सडक बगाएपछि यात्रुहरूलाई पाँच किलोमिटर घुमेर यात्रा गर्नुपर्ने बाध्यात्मक स्थिति सिर्जना भएको छ । सडक बिग्रँदा साइकल, मोटरसाइकलदेखि ठूला सवारी साधनसम्मलाई पाँच किलोमिटर घुमेर जानुपर्ने अवस्था आएको छ ।
यो सडक वीरगंज महानगरको लालपर्सा, मिल्न चोक जाने व्यस्त र महत्वपूर्ण सडक हो जहाँ दैनिक सयौं सवारी साधन चल्ने गर्दछ । तर, बाढीले सडक बगाएको महीनौं भइसक्दा पनि सम्बन्धित निकायले मर्मतको कुनै पहल नगरेको स्थानीयले गुनासो गरेका छन् ।
स्थानीयवासीले वीरगंज महानगरपालिका र वडा नम्बर २२ तथा ३० का वडा कार्यालयको लापरबाहीका कारण दैनिक आवतजावतमा कठिनाइ भोग्नु परेको बताएका छन् । ‘महानगरको ध्यानाकर्षण गराउँदा पनि अहिलेसम्म कुनै सुनुवाइ भएको छैन,’ स्थानीय बासिन्दा छठु साहले भने, ‘ यस्तो काममा ध्यान कहाँ पुग्छ, बजेट खपाउने काम न होस् तुरुन्तै बनीहाल्छ ।’
यस विषयमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, उपमेयर इम्तयाज आलम, वडा नम्बर ३० का वडा अध्यक्ष मनोज यादव र वडा नम्बर २२ का वडा अध्यक्ष दबारिका महतोलाई सडकको अवस्था बारे जानकारी गराएपनी हालसम्म सडक मर्मत हुन सकेको छैन् ।
केही साता अगाडी खानेपानी मन्त्री प्रदीप यादवलाई समेत सो सडक बारे अवगत गराएको स्थानीय बताउँछन् तर हालसम्म सडक मर्मत हुन सकेको छैन् ।