राष्ट्रिय बाल दिवसको अवसरमा लिभिङ विथ इन्भाइरोन्मेन्ट नामक संस्थाले "ओजन फर लाइभ" शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
वीरगंज पब्लिक कलेजको सभाकक्षमा आयोजित कार्यक्रममा वीरगंजका विभिन्न ११ विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । प्रतियोगीहरूले ओजन तहको अवस्थिति, यसको कार्य, मानव जीवनमा यसको महत्त्व तथा ओजन संरक्षणमा खेल्नुपर्ने भूमिकाबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा गौतम माध्यामिक विद्यालयका स्पन्दन चौधरी प्रथम, आन्नद चौधरी द्वितीय र माइस्थान विद्यापीठकी रूपा गिरी तृतीय भएका थिए । विजयी प्रतियोगीहरूलाई पुरस्कार तथा मेडल प्रदान गरिएको थियो । कार्यक्रममा डा. सुष्मा तिवारीले विद्यार्थीहरूले ओजन तहको बारेमा राखेका विचारहरू निकै महत्वपूर्ण रहेको बताइन् । उनले सहभागी सबैलाई धन्यवाद दिँदै, "हामीले विगतमा यस उमेरमा मञ्चमा चढेर विचार व्यक्त गर्न सक्ने अवस्था थिएन, तर अहिलेका भाइबहिनीहरूको आत्मविश्वास देखेर खुसी छु," भनिन् ।
कार्यक्रममा जनमत पार्टीका जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफले कार्यक्रम प्रभावकारी भएको बताउँदै, प्रकृतिको संरक्षणमा युवा पुस्ताले गहन जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । प्रतियोगितामा निर्णायकका रूपमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमद, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य के.सी. लामिछाने र लिभिङ विथ इन्भाइरोन्मेन्टका केन्द्रीय सचिव देवेश सर्राफ रहेका थिए ।
फिरोज अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इकवाल हैदर र दिपेश वरनवालले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन आयुष्मा सर्राफले गरेकी थिइन् ।
प्रतियोगितामा खालिद रेजा अन्सारी, आशुतोष चौधरी, योगिशा श्रेष्ठ, मुस्कान बरनवाल, सोनी साह कलवार, आकाश साह लगायतले भाग लिएका थिए ।