नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टरको गठन गरिएको छ ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टरमा अनुनय रुंगटा लर्निंग चेयर, दिपक साह स्टार्ट अप चेयर, आयुषी तुल्स्यान कम्युनिकेशन एण्ड नेटवर्क चेयर, मोहित खण्डेलवाल फाइनान्स चेयर र तनुश्री अग्रवाल मेम्बरशिप चेयर रहेका छन् ।
रजत बजाजको अध्यक्षतामा गठन भएको यस च्याप्टरको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री शतिष कुमार सिंहले वीरगञ्जको आदर्शनगरस्थित होटल लर्डस दियालोमा एक समारोहबीच गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले कृषि, उद्योग, र जनशक्तिलाई प्राथमिकता दिएर मात्र समृद्धि हासिल गर्न सकिने बताए । उनले विदेश मोह घटाई स्वदेशमै स्वरोजगार सिर्जना गर्न नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे । सिंहले बेरोजगारी घटाउन युवालाई दक्ष बनाउन र प्रदेश सरकारले उद्यमशीलतालाई प्रोत्साहन गर्न साथ दिने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल उद्योग परिसंघका केन्द्रिय अध्यक्ष राजेश कुमार अग्रवालले उद्योग परिसंघको भूमिका तथा सरकारले बजेट र नीति निर्माणमा परिसंघसँग सहयोग लिने विषयमा प्रकाश पारेका थिए ।
नवगठित मधेश प्रदेश च्याप्टरका अध्यक्ष रजत बजाजले धन्यवाद ज्ञापन गर्दै उद्योग र व्यवसायको क्षेत्रमा ऊर्जाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, लायन्स क्लबका पूर्व डिष्ट्रिक्ट गर्भनर देवकीनन्दन अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।