संविधान दिवसको अवसरमा आयोजना हुने नेशनल डे कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।
प्रधानमन्त्रीको सुरक्षा थ्रेटको कारणले गर्दा सुरक्षा निकायले उनलाई उक्त कार्यक्रममा नजान सुझाव दिएको जनाएको छ । असोज ३ गते नारायणहिटी दरबार अगाडि आयोजना हुन लागेको कन्सर्टमा प्रधानमन्त्री ओलीको उपस्थिति नभएको जानकारी दिँदै सुरक्षा निकायका अधिकारीहरूले भने, "खुला सार्वजनिक कार्यक्रममा ओली उपस्थित हुँदा बालेनका समर्थकबाट सुरक्षामा असर पर्ने सम्भावना छ ।"
प्रधानमन्त्री ओली र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह बीचको टकरावका कारण प्रधानमन्त्री ओलीले उक्त कार्यक्रममा जानु नपर्ने भएको हो । बालेनका समर्थकले प्रधानमन्त्री ओलीविरुद्ध सामाजिक सञ्जालमा लगातार आक्रमण गरिरहेका छन् र उनका समर्थकहरूले अनफलो अभियान पनि चलाइरहेका छन् ।
यसअघि, इन्द्रजात्रामा प्रधानमन्त्री ओलीको उपस्थितीमा बालेनका समर्थकलाई नियन्त्रणमा लिइएको थियो । बालेनका समर्थकलाई प्रहरीले साइड गर्दा प्रधानमन्त्री ओलीले कार्यक्रममा भाग लिएका थिए । यस घटनाले पनि प्रधानमन्त्री ओलीले बालेन समर्थकबाट सुरक्षा थ्रेट महसुस गरेको संकेत गर्दछ ।
नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले बताएअनुसार, "संविधान दिवसको दिन प्रधानमन्त्री बिहानको औपचारिक कार्यक्रममा मात्र सहभागी हुनेछन् । अनौपचारिक कार्यक्रमहरूमा जानुहुने छैन ।"
कन्सर्टका आयोजक, दिनेश डिसीले भने, "प्रधानमन्त्री ओलीले कन्सर्टमा उपस्थित हुने वचन दिएका थिए ।" कार्यक्रम दिउँसो ४ बजेदेखि राति ८ बजेसम्म चल्ने छ र यसमा राष्ट्रिय एकता, स्वाभिमान, र राष्ट्र प्रेमका विषयवस्तुहरूमा आधारित विभिन्न कलाकार र व्यान्डहरूको प्रस्तुति हुने जानकारी दिइएको छ ।
यसअघि भदौ १० गते टुडिखेलमा आयोजित गौरा वर्ष कार्यक्रममा पनि ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको थियो ।