चौथो जीतपुर सिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबल प्रतियोगिता अन्तर्गत बुधबार एकैदिन चार खेल सम्पन्न भएका छन् ।
सिमरा रंगशालामा भएका खेलमा सिमरा, पोखरा, दार्जिलिङ र कोलकत्ताले जीत हात पारेका छन् । बिहान ७ बजे सम्पन्न पहिलो खेलमा ए.बि.सी. भेट्रान क्लब पोखराले हाम्रो धरान भेट्रान फूटबल क्लबलाई टाईब्रेकरमा ३–२ ले पराजित गरेको हो । निर्धारित समयमा दुवै टिमले २–२ को बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट आएको थियो ।
धरानले लिएको २–० को अग्रता उल्टाउँदै खेललाई टाईब्रेकरमा पुर्याएको पोखराका लागि संजयकुमार गुरुङ, विश्वलाल श्रेष्ठ र तेजबहादुर थापाले गोल गरेका थिए भने विकर्ण श्रेष्ठ र पूर्णबहादुर गुरुङ गोल गर्न चुकेका थिए । धरानका पदमकुमार राई र अशोख्य राईले मात्रै गोल गरेपछि पोखराले जीत हात पारेको हो ।
धरानका लागि सतिश केसीले दुई गोल गर्दै खेलमा अग्रता बनाएका थिए तर पोखराका निलेन्द्र देवान र राजकुमार घिसिङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
दोस्रो खेलमा सिमराको नव जनजागृति भेट्रान क्लबले हेटौंडा भेट्रान क्लबलाई ३–१ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गर्यो । नव जनजागृतिका लागि ओम पाल सिंह बस्नेतले दुई र दिलकुमार कार्कीले एक गोल गरेका थिए । हेटौंडाका लागि राजेन्द्र थापाले एक गोल फर्काएका थिए ।
तेस्रो खेलमा क्लिभ हाउस भेट्रान क्लब कोलकत्ताले चितवन भेट्रान क्लबलाई १–० ले पराजित गर्यो । कोलकत्ताका लागि बिजय अधिकारीले दोस्रो हाफको १३औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
चौथो खेलमा युनाईटेड बतासिया भेट्रान क्लब दार्जिलिङले वीरगंज सिटी फूटबल क्लबलाई ३–१ ले हराएको छ । दार्जिलिङका लागि सुदिप राई, नोर्बु लामा र ग्याल्सेन लामाले समान एक–एक गोल गरे भने वीरगंजका लागि सुरेश श्रेष्ठले एक गोल फर्काएका थिए ।
प्रतियोगिता अन्तर्गत बिहीबारदेखि क्वाटरफाइनल खेलहरू सुरु हुँदैछन् । बिहान ६ बजे हुने पहिलो खेलमा आयोजक सिमरा भेट्रान क्लब र कटारी टाईगर फूटबल क्लब भिड्नेछन् । बिहान ८ बजे रियल फ्रेण्ड भेट्रान सिक्किम र सरस्वती नगर भेट्रान क्लब काठमाडौंबीच दोस्रो खेल हुनेछ ।
तेस्रो खेल दिउँसो ३ बजे क्लिभ हाउस भेट्रान क्लब कोलकत्ता र युनाईटेड बतासिया भेट्रान क्लब दार्जिलिङबीच हुनेछ भने अन्तिम क्वाटरफाइनल खेलमा ए.बि.सी. भेट्रान क्लब पोखरा र नव जनजागृति भेट्रान क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सिमरा भेट्रान क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनल असोज ५ गते हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार जित्नेछ ।