वीरगंज महानगरपालिकामा आएको चार महिनादेखि विभिन्न स्थानमा लुकाएर राखिएको १ करोड २९ लाख ८६ हजार रुपैयाँ बराबरका स्वास्थ्य सामग्रीहरू अब धमाधम वितरण गर्न शुरु गरिएको छ ।
वीरगंज सिटीमा प्रकाशित "स्वास्थ्य मन्त्रालयले पठाएको करोडौँको उपकरण वीरगंज महानगरमा चार महिनादेखि थन्कियो" समाचारको प्रभावले यी सामग्रीहरू अहिले वडा कार्यालयहरूमा पठाउने काम सुरु भएको हो । महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनमा स्वास्थ्य मन्त्रालयले पठाएका सामग्रीहरू विभिन्न स्थानमा लुकाएर राखिएको थियो । भदौ २९ गते समाचार प्रकाशित भएपछि चार दिन लगाएर सामग्रीहरू संकलन गरि वितरणको प्रक्रिया अघि बढाइएको छ ।
स्वास्थ्य मन्त्रालयले पठाएको सामग्रीहरू महानगरपालिकामा जम्मा गरिए पनि केही सामग्रीहरू अझै आउन बाँकी रहेको जनाएको छ । यसबाट समेत प्रमाणित हुन्छ समानहरु लुकाएर बिल बनाएर करोडौँ रुपैयाँ अपचलन गर्ने प्रकृयामा रहेका थिए । ४ महिना अगाडी नै स्वास्थ्य मन्त्रालयले समान पठाएपनि महानगर स्वास्थ्य शाखाका कर्मचारीहरूले २०८१ असोज २ गते बुधबार अर्थात दुईदिन अगाडी मात्रै सबैको रोहबरमा सामग्रीहरूको मुचुल्का उठाएर हस्ताक्षर गराई वितरण प्रक्रिया अघि बढाएका छन् ।
वडा कार्यालयहरूमा सामान्य बीपी सेट जस्तो स्वास्थ्य उपकरणहरूको समेत अभाव रहेको अवस्थामा महानगरपालिकाले अन्य सप्लायर्स मार्फत बिल बनाएर त्यसको रकम महानगरबाट भुक्तानी गराएर करोडौँ रुपैयाँको हिनामिना गर्ने योजनामा मेयर राजेशमान सिंह र उनका निकटस्थ कर्मचारीहरू रहेका थिए । तर वीरगञ्ज सिटीको समाचार प्रभावपछि अब यी सामग्रीहरू वडा कार्यालयहरूमा जाने भएका छन् ।
स्वास्थ्य मन्त्रालयले पठाएको नयाँ प्राविधि युक्त सामाग्रीहरु छन् । जसमा विपि सेट दुई किसिमका रहेका छन् । जसले साना बच्चा र ठुला व्यक्तिहरुलाई समेत काम लाग्ने खालका विपि सेट रहेका छन् । त्यस्तै भिडियो एक्सरे सहित त्यसमा प्रयोगका लागी एप्पलको ट्याब्लेट पठाएको छ । जुन स्वास्थ्य मन्त्रालयले टोटल रिपोर्टिङ्ग गर्न सक्ने खालको अत्याधुनिक प्रविधि युक्त रहेको भिडियो एक्सरे हो । यी सामाग्रीहरु स्पेसिफिकेशन निकालेर खरिद बिल बनाई भुक्तानीको योजना मेयर सिंह रहेको स्रोतले बताए ।
महानगरको स्वास्थ्य चौकीहरुका लागी स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा औजार उपकरण स्टोरले साउन ४ गते ९० लाख ३२ हजार रुपैयाँ बराबरका ८ प्रकारका स्वास्थ्य उपकरण पठाएको थियो । त्यस्तै पथलैया स्टोरबाट जेठ ९ गते ३९ लाख ५४ हजार रुपैयाँ बराबरको १७ प्रकारका सामग्री पठाएको थियो ।
यी सामग्रीहरूमा डिजिटल फिटल डपलर, नेबुलाइजर, बीपी सेट, माइक्रोस्कोप प्रिमोस्टार, पोर्टेबल अल्ट्रासाउन्ड मेसिन, डिलेभरी सेट, सक्सन मेसिन, अक्सिजन सिलिन्डर, निडल कटर, अटो क्लेभ, मच्छरदानी लगायतका उपकरणहरू समावेश छन् । तर, यी सामग्रीहरू चार महिनादेखि लुकाएर राखिएको थियो ।
तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवको पहलमा पठाइएका यी सामग्रीहरू समयमा वितरण नहुँदा सर्वसाधारणले महँगो शुल्क तिरेर स्वास्थ्य सेवाहरू लिन बाध्य भएका थिए । विशेषगरी बर्थिङ सेन्टरका लागि आवश्यक उपकरणहरू नपुग्दा गर्भवती महिलाहरूले महँगो शुल्क तिरेर उपचार गराउनुपर्ने अवस्था सिर्जना भएको थियो । मेयर सिंहको व्यवस्थापकीय कमजोरी र स्वास्थ्य शाखाका अधिकारीहरूको लापरबाहीले सर्वसाधारणले हालसम्म महंगो शुल्क तिरेर उपचार गराईरहेका छन् ।
महानगर स्वास्थ्य शाखाका कर्मचारीका अनुसार अब यी सामग्रीहरू सबै वडाहरूमा पठाउनका लागि तयारी भइरहेको जानकारी दिएको छ ।
सम्बन्धित समाचार