पोखरिया नगरपालिका स्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार नमूना प्राविधिक विद्यालयमा अत्यधिक गर्मीका कारण आठजना छात्रा बेहोस भएका छन् ।
विद्यालयमा कक्षा ७, ९ र अन्य कक्षामा अध्ययनरत छात्राहरू गर्मीको प्रभावका कारण एकाएक बेहोस भएका हुन् । बेहोस हुनेहरूमा कक्षा ७ की सोनु ठाकुर र लालसा कुमारी यादव, कक्षा ९ की नेहा कुमारी, मनीता कुमारी यादव, अन्तिमा कुमारी राम, चन्दा कुमारी ठाकुर, निश्मा कुशवाहा र साजदा खातुन रहेका छन् ।
ती छात्राहरूलाई तुरुन्तै पोखरिया अस्पतालमा उपचार गराइएको थियो । पोखरिया नगरपालिकाका मेयर प्रद्युम्नप्रसाद चौहानले विद्यालयका कक्षाहरू बिहान ६ बजे सञ्चालन गर्न निर्देशन दिएपनि जिल्ला उच्चाङ्गल मावि पोखरीयामा बिहान ११ बजेपछि मात्रै सञ्चालन भइरहेकाले यस्तो घटना भएको अभिभावकहरूले आरोप लगाएका छन् ।
विद्यार्थीहरू बेहोस हुन थालेपछी मेयर चौहानले पुनः विद्यालयलाई बिहानी सत्रमा मात्रै सञ्चालन गर्न निर्देशन दिएका छन् ।
यसैबीच, वीरगंज महानगरपालिकाले अत्यधिक गर्मीका कारण असोज ८ र ९ गते दुई दिन विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जारी गरेको सूचनामा सामुदायिक तथा निजी विद्यालयहरू दुई दिनका लागि बन्द गर्न भनिएको छ । उनले विद्यार्थीहरूलाई घरमा अध्ययनको वातावरण मिलाउन र गृहकार्य गराउन आग्रह गरेका छन् ।
पर्सागढी नगरपालिकाले पनि असोज ८ देखि १६ गतेसम्म विद्यालयहरूको पठनपाठन बिहान ६ देखि ११ः३० बजेसम्म सञ्चालन गर्न निर्देशन दिएको छ ।