राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले पार्टी सभापति रवि लामिछानेलाई सरकारले संसदीय छानबिन समितिको प्रतिवेदन विपरीत धरपकड गर्न खोजेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार दिउँसो रास्वपा पर्साका जिल्ला सभापति हरि पन्तको नेतृत्वमा आदर्शनगरबाट निस्किएको मौन जुलुसले जिल्ला प्रशासन कार्यालय, पर्सा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी सानू बाबु अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।
जुलुसमा सहभागीहरूले ‘रवि निर्दोष छन्, राजनीतिक पूर्वाग्रह नसाध’, ‘८७ अर्ब ठग्ने असली सहकारी ठगहरूलाई कारबाही गर’ भन्ने प्लेकार्ड बोकी नगर परिक्रमा गरि सहायक प्रमुख जिल्ला अधिकारी अधिकारी मार्फत ज्ञापनपत्र आजै प्रधानमन्त्रीको कार्यालयमा पठाइने जानकारी दिएका छन् । ज्ञापनपत्र बुझाएपछि जुलुस माइस्थानमा पुगेर कोणसभा गर्दै टुंगिएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै जिल्ला सभापति पन्तले दुई तिहाई बहुमतको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका थिए । उनले नेपाली जनताले श्रीलंका र बाङ्लादेश झैँ सत्ताको विरोधमा विद्रोह गर्ने चेतावनी समेत दिए । साथै, उनले सत्ताको स्थायित्व नरहने र जनताले सबै गतिविधि नजिकबाट नियालिरहेको बताए ।
कोणसभामा रास्वपा क्षेत्रीय सभापतिहरू जितेन्द्र मिश्र, फैयाद मियाँ, प्रदेश सदस्य तुलसा पौडेल, सुदिश प्रजापति, प्रचार विभागका प्रदेश प्रमुख राम शरार्फ, संगठन तथा शिक्षा विभागका प्रमुख राम प्रमोद रायमाझी, राम आर्य, सोनाला पटेल, पालिका सभापति माधव बस्नेत, उमेश यादव, चन्दन गुप्ता र प्रदीप पटेल लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
सभालाई रास्वपाका केन्द्रीय सदस्य डा. नन्दन यादव र पूर्व संयोजक दिलीप कुर्मीले सम्बोधन गरेका थिए ।