मधेस प्रदेस सरकारका मुख्यमन्त्री सतिश सिंहले आफ्नो नेतृत्वको १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन् ।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री सिंहले प्रदेश सरकारको कामहरू सार्वजनिक गर्दै आर्थिक, सामाजिक, खेलकुद, शिक्षा, कृषि, स्वास्थ्य र श्रम बजारमा सुधार ल्याएको दाबी गरे । उनका अनुसार १०० दिनमा प्रदेश सरकारले चारवटा विधेयक पारित गरेको छ, जसमा खेलकुद, बालिका संरक्षण, स्थानीय सेवा र यातायात व्यवस्थापन विधेयकहरू समावेश छन् ।
साथै, प्रदेश लोकसेवा आयोगमा रिक्त पदपूर्ति गर्दै स्वास्थ्य, कृषि, शिक्षा लगायतका क्षेत्रमा महत्त्वपूर्ण कामहरू अघि बढाइएको जानकारी गराएको छ । मुख्यमन्त्री सिंहले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम सुरु भएको र प्रदेशभर ८ वटा शैक्षिक पार्क स्थापना गर्ने योजना रहेको बताएका छन् ।
कृषि क्षेत्रमा महिला स्वयंसेविका परिचालन र कमला नदी क्षेत्रमा एकीकृत कृषि विकास परियोजना अघि बढाइएको पनि उनले जानकारी गराएका छन् ।
प्रदेश सरकारको प्रगति रिपोर्टमा सिंचाइ, वन क्षेत्र संरक्षण, स्वास्थ्य नीति निर्माण, रेमिट्यान्समा आधारित स्वरोजगार कार्यक्रम र सडक विकास लगायतका योजनाहरू उल्लेख गरिएको छ ।