वीरगञ्जको ऐतिहासिक र धार्मिक महत्त्व बोकेको गहवामाई मन्दिरलाई केन्द्रबिन्दु बनाउँदै “इनकर नाम गहवामाई” बोलको नयाँ धार्मिक भोजपुरी गीत सार्वजनिक भएको छ ।
वीरगञ्जका स्थानीय कलाकारहरूको योगदान रहेको यस गीतलाई चन्दन प्रजापतिले स्वर दिएका छन्, भने गीतको रचना भोजपुरी साहित्यकार आमोद गुप्ताले गरेका छन् । मुन्ना मुस्कानले सङ्गीत दिएको यस गीतमा गहवामाई मन्दिरको महिमा र सांस्कृतिक महत्त्वलाई उजागर गरिएको छ ।
गीतको भिडियोमा दिवेश शर्मा र महिला पत्रकार विमला गुप्ताको उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियोको छायाङ्कन, सम्पादन र निर्देशन विकास प्रजापतिले गरेका हुन् ।
विशेषगरी गहवामाई मन्दिरको सांस्कृतिक महत्त्वलाई उजागर गर्न भिडियोमा यस क्षेत्रको धार्मिक पक्षलाई समेटिएको छ । भिडियोमा गहवामाई मन्दिरसहित अन्य प्रमुख धार्मिक स्थलहरू जस्तै सितलामाई मन्दिर, भोलेनाथ मन्दिर, भैरवनाथ मन्दिर, सरस्वती माता, गणेश मन्दिर र लक्ष्मीनारायण मन्दिरको वर्णन गरिएको छ ।
गहवामाई मन्दिर वीरगञ्जको प्रमुख धार्मिक स्थलहरू मध्ये एक हो, जहाँ हरेक वर्ष विशेष गरी दसैँको समयमा घटस्थापनादेखि पूर्णिमासम्म भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ । देवी गहवामाई लाई शक्तिको प्रतीकका रूपमा पूजा गरिन्छ र यस मन्दिरले धार्मिक तथा सांस्कृतिक महत्त्वलाई झल्काउने काम गरेको छ ।
गीतले वीरगञ्जको स्थानीय सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ ।