लेबनन र सिरियाका केही स्थानमा सेप्टेम्बर १७ मा हिजबुल्लाहका सदस्यहरूले बोकेका हजारौं पेजर विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु र झन्डै तीन हजार जना घाइते भएको घटनामा इसराइलको संलग्नता खुलेको छ ।
अमेरिकाको द वासिङटन पोस्टका अनुसार, इसराइलले ती पेजर हिजबुल्लाहलाई "एकचोटि चार्ज गर्दा लामो समयसम्म टिक्ने" भनेर बिक्री गरेको थियो ।
यस घटनामा प्रयोग भएका पेजरहरू ताइवानको गोल्ड अपोलो कम्पनीको एआर २९४ मोडेलका लोगो भएका थिए । तर ती पेजरमा इसराइलले पहिले नै विस्फोटक पदार्थ राखेको थियो। हिजबुल्लाहले यसलाई नबिग्रिने, लामो समय टिक्ने र पानीमा समेत काम गर्ने विश्वासमा ठूलो परिमाणमा किनेको थियो । घटनाको अनुसन्धानले खुलासा गरेअनुसार, इसराइलले ती पेजरहरूको ब्याट्रीमा विस्फोटक पदार्थ लुकाएर सेप्टेम्बर १७ मा एकैपटक ती पेजरहरू विस्फोट गराएको थियो। यस विस्फोटमा हिजबुल्लाहका सदस्यसँगै सर्वसाधारण पनि घाइते भएका थिए ।
विस्फोटकको गोप्य योजना
इसराइलले पेजरको ब्याट्रीमा शक्तिशाली विस्फोटक पदार्थ लुकाएको थियो, जसलाई हिजबुल्लाहले खोलेर वा एक्स-रेले जाँच गर्दा पनि पत्ता लगाउन सक्दैनथ्यो । इसराइलले आफ्नो योजनालाई सफल बनाउन पेजरमा विशेष फिचर पनि राखेको थियो । गोप्य मेसेज आयो भने त्यसलाई खोल्न दुई बटन एकैचोटि थिच्नुपर्ने व्यवस्था गरिएको थियो। ती बटन थिच्ने बित्तिकै पेजर विस्फोट हुन्थ्यो ।
पेजर र वाकी-टकी दुबै विस्फोट गरायो
पोष्टको रिपोर्टका अनुसार, इसराइलले नौ वर्ष अघि हिजबुल्लाहलाई बेचेका वाकी-टकीहरूमा पनि विस्फोटक पदार्थ राखेको थियो ।
तीनवर्षदेखी प्रयाेग गर्दै आएको पेजर विस्फोटको भोलिपल्ट ती वाकी-टकी पनि विस्फोट गराइएको थियो, जसमा २५ जनाको मृत्यु र ४०० भन्दा बढी घाइते भएका थिए। ती वाकी-टकीले नौ वर्षसम्म हिजबुल्लाहको सञ्चार इसराइलले सुनिरहेको थियो । इसराइलले पेजर र वाकी-टकी विस्फोट गराएर हिजबुल्लाहको सञ्चार प्रणालीलाई तहसनहस बनाएको छ ।