विवाहको उमेर र निर्णयलाई लिएर नेपाली समाजमा हुने दबाबलाई उजागर गर्ने चलचित्र ‘बेहुली फ्रम मेघौली’ अहिले हलहरूमा प्रदर्शन भइिरहेको छ ।
चलचित्रले विशेष गरी महिलाहरूले विवाहको उमेर कटेपछि झेल्नुपर्ने सामाजिक र पारिवारिक दबाबलाई प्रस्तुत गरेको छ । फिल्मको मुख्य पात्र मीना (स्वस्तिमा खड्का) सात वर्षदेखि अस्ट्रेलियामा रहेका प्रेमी निरज (निश्चल बस्नेत) लाई कुरिरहेकी हुन्छिन् । २२ वर्षको उमेरमा प्रेममा परेकी मीना २९ वर्षको हुँदा पनि विवाहको सपना पालेकी हुन्छिन्।
अध्ययन र जागिर दुबै छाडेर विवाहको प्रतीक्षामा बसेकी मीनालाई निरजले अन्ततः विवाह गर्न अस्वीकार गर्छ। यसले मीनाको जीवनमा ठूलो परिवर्तन ल्याउँछ । फिल्मले नेपाली समाजमा विवाहको उमेर र त्यससँग सम्बन्धित परम्परागत धारणालाई चुनौती दिने प्रयास गरेको छ । समाजले तोकेको उमेरमा विवाह नभएमा महिलाहरूले झेल्नुपर्ने मानसिक र सामाजिक दबाब चलचित्रको प्रमुख विषयवस्तु हो ।
चलचित्रमा मीनाको बुवाले समाजको दबाबमा परेर जसरी पनि छोरीको विवाह गरिदिनुपर्ने सोच राख्छन् । अन्ततः समाजको दबाबलाई मीनाले त्याग्दै आफ्नै निर्णयमा अडिन्छिन्। बुवाले पनि समाजको विचार छोडेर आफ्नै मनको कुरा मान्छन् र भन्छन्, ‘मेरी छोरीको विवाह गर्ने बेलै भएको छैन ।’
स्वस्तिमा खड्काको अभिनयलाई दर्शकले निकै रुचाएका छन् । लोकेन्द्र लेखकले मीनाको बुवाको भूमिकामा आफ्नो अभिनय क्षमताको राम्रो प्रदर्शन गरेका छन् । नवोदित निर्देशक आकाश बराल र सजन काफ्लेको निर्देशनको प्रशंसा गर्नैपर्ने पक्ष हो, जसले सामाजिक यथार्थलाई पर्दामा कुशलतापूर्वक उतारेका छन् ।
समग्रमा, ‘बेहुली फ्रम मेघौली’ समाजले थोपर्ने विवाहको अनिवार्यता र व्यक्तिगत स्वतन्त्रताबीचको द्वन्द्वलाई उजागर गर्ने उत्कृष्ट चलचित्र हो ।