काठमाडौँको कुलेश्वर र कालीमाटी क्षेत्रमा बाढीले क्षति पुर्याएको तरकारी तथा फलफूल बजारको अनुगमन गर्न आइतबार पुगेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई व्यापारीहरूले आक्रोशित हुँदै लखेटेका छन् ।
बागमती र विष्णुमती नदीको बाढीले कुलेश्वर क्षेत्रको खाद्यान्न, तरकारी र फलफूलको होलसेल गोदाम क्षेत्रमा ९ फिटसम्म पानी जम्दा व्यापारीहरूको ठूलो आर्थिक क्षति भएको थियो । व्यापारीहरूले बाढीका कारण करोडौँको क्षति व्यहोर्नु परेको जनाउँदै राहतको माग गरेका थिए । तर, राज्यले तत्काल सहयोग नगरी उल्टै अनुगमनको नाममा व्यापारीलाई झन् समस्या दिएको भन्दै उनीहरू आक्रोशित बनेका हुन् ।
मन्त्री भण्डारी वाणिज्य विभागको टोली र सञ्चारकर्मीहरू सहित अनुगमनका लागि कुलेश्वर पुगेका थिए । तर, त्यहाँका करिब २ सयजति व्यापारीहरूले नाराबाजी गर्दै उनलाई लखेटेका थिए । विरोधका क्रममा ‘भ्रष्ट मन्त्री मुर्दावाद’ लगायतका नारा लगाइएको भिडियो सार्वजनिक भएको छ ।
व्यापारीहरूले मन्त्रीको टोलीमाथि नाराबाजी गर्दै उनीहरूको बिलबिजक र मूल्य जाँच्ने प्रयासमा अवरोध पुर्याएका थिए । अनुगमनको क्रममा व्यापारीहरूले राज्यको समय र प्राथमिकता गलत रहेको भन्दै आक्रोश व्यक्त गरेका थिए । बाढीले डुबेको बजारमा हिलो हटाउन नपाएको, मालसामान कुहिएको र खातापाता समेत बिग्रिएको अवस्थामा सरकारले राहत दिनुको सट्टा अनुगमन गर्न आएको भन्दै व्यवसायीहरूले असन्तुष्टि पोखेका थिए ।
नेपाल खाद्य किराना तथा थोक व्यवसायी महासंघका महासचिव विनोद पाण्डेले बाढीको कारण पसलहरूमा ठुलो क्षति भएको र सरकारले त्यसको समाधान नगरी उल्टै व्यापारमा हस्तक्षेप गरेको आरोप लगाए । अनुगमनका क्रममा भएको अवरोधका लागि केही व्यापारीहरूलाई कारबाही गरिने जिल्ला प्रशासन कार्यालयको निर्णय सार्वजनिक भएको छ । मन्त्रालयको सचिवालयले अनुगमन अवरुद्ध गर्नेहरूलाई सार्वजनिक अपराधको कसुरमा कारबाही गरिने जानकारी दिएको छ ।
तर, व्यापारीहरूले भने राज्यले उनीहरूको समस्या बुझेर राहत दिनुपर्ने समयमा अनुगमनका नाममा दमन गरिरहेको आरोप लगाएका छन् ।