भारत सरकारले प्रशोधित तेल आयातमाथि लगाएको प्रतिबन्ध हटाएपछि नेपाली तेल व्यवसायीहरू उत्साहित भएका छन् ।
दुई वर्षदेखि तेल आयातमा रोक लगाएको भारतले एक महिना अघि विज्ञप्ति जारी गर्दै नेपालमा प्रशोधित तेल निकासीलाई पुनः खुला गरेको हो । भारत सरकारको उद्योग मन्त्रालय अन्तर्गतको डाइरेक्टर जनरल अफ फरेन ट्रेडले जारी गरेको सूचनाअनुसार अब नेपालबाट आयात हुने प्रशोधित तेलमा भन्सार महसूल शून्य गरिएको छ ।
यसअघि २० प्रतिशत भन्सार महसूल लगाउँदा नेपालबाट भारतमा तेल निकासी महँगो भएको थियो । उतिबेला भारतमा उत्पादन हुने तेल सस्तो हुँदा नेपालका तेल उद्योगहरूमा उत्पादन प्रभावित भएको थियो ।
तेल उद्योग पुनः संचालनमा
नेपाल चामल दाल तेल संघका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुबोध गुप्ताका अनुसार वीरगञ्जमा हाल नौवटा तेल उद्योग सञ्चालनमा छन् । तीमध्ये अधिकांश उद्योग दुई वर्षदेखि बन्द अवस्थामा रहेका थिए । उत्पादन बन्द हुँदा १०-१५ प्रतिशत मात्र जनशक्ति सक्रिय राखिएको थियो भने मेशिनहरू प्रयोगमा नआउँदा खिया लाग्ने समस्यामा पुगेकाे थियाे ।
हाल भारतले तेल आयात खुला गरेपछि यी उद्योगहरू पुनः सञ्चालनमा आएका छन् । उद्योगहरूमा जनशक्ति थपिँदै छ भने मेशिनहरूको सरसफाइ र परीक्षण पनि गरिएको छ । केही उद्योगले आफ्नो उत्पादन क्षमतामा १५ प्रतिशत वृद्धि गरिसकेका छन् ।
एलसी खोली अर्डर
वीरगञ्जका अधिकांश उद्योगहरूले एलसी खोलेर कच्चा तेलको अर्डर गरिसकेका छन्। कच्चा तेलका लागि इन्डोनेशिया, मलेसिया, थाइल्यान्ड र युक्रेनलगायत देशहरूबाट मालसामान अर्डर भइरहेको छ । कच्चा तेल प्राप्त भएपछि उत्पादन पूर्ण क्षमतामा पुर्याएर तेल भारत निकासी गर्ने योजना राखेकाे छ ।
तेल उत्पादन र निकासी प्रक्रियालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन करिब डेढ महिना लाग्ने अनुमान गरिएको छ । वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा रहेका नौवटा तेल उद्योगहरूमा शिवशक्ति घ्यू उद्योग, सुशील वनस्पति, नारायणी आयल रिफाइनरी, अन्नपूर्ण भेजिटेबल, गणपति वनस्पति प्रालि, ओसिबी फूड्स एन्ड फिड्स, सिजी आयल एन्ड डेलिभेटिप्स, महालक्ष्मी सोल्भेन एन्ड रिफाइनरी, नन्दन आयल रिफाइनरी प्रालि छन् ।