बैंक तथा वित्तीय संस्थाहरूले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । १० वाणिज्य बैंकहरूले कात्तिकमा आफ्नो ब्याजदर घटाएका छन् भने १० बैंकहरूले अघिल्लो महिनाको दरलाई यथावत् राखेका छन् । चाडपर्वको समयमा अपेक्षित कर्जा माग नहुँदा बैंकको ब्याजदरमा स्थिरता देखिएको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरूले प्रत्येक महिनाको अन्त्यसम्ममा नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने नियम छ। यसपालि कुनै पनि बैंकले ब्याजदर नबढाएको देखिएको छ ।
बैंकहरूको ब्याजदर
कुमारी बैंक:
कुमारी बैंकले सबै प्रकारका खाताहरूको ब्याजदर स्थिर राखेको छ। बैंकले कात्तिक महिनामा बचत खातामा ३.०१%, व्यक्तिगत मुद्दती खातामा ५.३१%, र संस्थागत मुद्दती खातामा ३.२५% ब्याजदर कायम गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक:
व्यक्तिगत मुद्दती खातामा ०.२५% ले ब्याजदर घटाएको यस बैंकले बचत खातामा ३%, व्यक्तिगत मुद्दतीमा ४.५०%, र संस्थागत मुद्दती खातामा ४% ब्याजदर दिएको छ ।
कृषि विकास बैंक:
व्यक्तिगत मुद्दती खातामा ०.०६५% ले घटाएको कृषि विकास बैंकले बचत खातामा ३%, व्यक्तिगत मुद्दतीमा ५%, र संस्थागत मुद्दतीमा ३.७५% ब्याज प्रदान गर्दैछ ।
नबिल बैंक:
बचत, व्यक्तिगत, र संस्थागत मुद्दती खातामा ब्याजदर स्थिर राख्दै नबिलले क्रमशः ३%, ५%, र ४% ब्याज दिएको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक:
यस बैंकले बचतमा ३%, व्यक्तिगत मुद्दतीमा ५.५०%, र संस्थागत मुद्दती खातामा ४.२५% ब्याजदर राखेको छ ।
सबैभन्दा धेरै ब्याज दिने बैंकहरू
नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा एनआईसी एशिया बैंकले ३.२७% सर्वाधिक ब्याज दिनेछ। व्यक्तिगत मुद्दती खातामा माछापुच्छ्रे बैंकले ६.५०% ब्याजदर कायम गरेको छ ।
सबैभन्दा कम ब्याज दिने बैंकहरू
व्यक्तिगत मुद्दती खातामा सबैभन्दा कम ब्याजदर एभरेस्ट बैंक र एनआईसी एशिया बैंकको ४.१५% रहेको छ ।
बैंकहरूको नयाँ ब्याजदरले बचतकर्तालाई फाइदा र कर्जाग्राहीलाई राहत दिने अपेक्षा गरिएको छ ।