'साइबर सुरक्षा आजको आवश्यकता' भन्ने नाराका साथ ६९औं प्रहरी दिवस २०८१ जिल्ला प्रहरी कार्यालय, पर्साले विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।
कार्यक्रमकाे अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राधेश्याम धिमाललाई उत्कृष्ट प्रहरी उपरीक्षकका रूपमा सम्मान गरिएको छ । धिमाललाई पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले कदरपत्र प्रदान गर्दै सम्मान गरेका थिए । त्यसैगरी पूर्व प्रहरी नायब निरीक्षक जनार्दन मिश्र, पूर्व प्रहरी निरीक्षक दानबहादुर बिक, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारी, उद्योग वाणिज्य संघका अध्यक्ष अनिल रूगटा, ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतान, वीरगंज महानगरपालिका वडा नं. २६ का अध्यक्ष सम्भु मिश्र, वडा नं. ४ का अध्यक्ष जगत साह कानु लगायतका व्यक्तित्वहरूलाइ सम्मानित गरिएकाे हाे ।
कार्यक्रममा रस्साकस्सी, दौड, टेबल टेनिस जस्ता विभिन्न खेलकुद प्रतियोगिताहरूको आयोजना गरिएको थियो । जसमा विजयी खेलाडीहरूलाई प्रमुख जिल्ला अधिकारी तथा प्रमुख अतिथि दिनेश सागर भुषालले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा पूर्व संगठन प्रमुख दानबहादुर बिक, वीरगंज महानगरपालिकाका प्रवक्ता अरविन्दलाल कर्ण, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान लगायतले प्रहरीको सक्रियता र साइबर सुरक्षामा दिनुपर्ने ध्यानको बारेमा जोड दिएका थिए ।
कार्यक्रममा अनुसन्धानमा उत्कृष्ट कार्य गर्ने प्रहरी नायब उपरीक्षक सुवास, प्रहरी निरीक्षक रोशन थापा, प्रहरी वरिष्ठ नायब निरीक्षक रमेश बजगाई, प्रहरी निरीक्षक विजय चौहान, प्रहरी नायब निरीक्षक जीवन सुनवार र तेजप्रताप सिंह लगायत प्रहरीहरूलाइ नगदसहित सम्मान गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले प्रहरीलाई साइबर सुरक्षाका चुनौतीहरूमा सधैं सतर्क र सफल हुन निर्देशन दिए। साथै, उनले मानव अधिकारको रक्षा र समाजको आवश्यकता अनुसार अपराध निराकरणमा गम्भीर भएर लाग्न आग्रह गर्दै तीनै तहका सुरक्षामा प्रहरी सफल होस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले नेपाल प्रहरीले दर्ता भएका मुद्दाहरूमा दृढतापूर्वक काम गरिरहेको र भन्सार चुहावट रोक्न समेत उल्लेखनीय भूमिका खेलिरहेको जानकारी दिएका थिए ।