शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले असोज ११ र १२ गतेको अविरल वर्षाका कारण ललितपुर जिल्लामा क्षति पुगेका विद्यालयहरूको स्थलगत निरीक्षण गरेकी छन्। मन्त्रीसँगै स्थानीय सांसदहरू, बाग्मती प्रदेशका अधिकारीहरू, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रतिनिधिहरू लगायतका व्यक्तिहरू पनि उपस्थित थिए।
निरीक्षणका क्रममा विभिन्न विद्यालयहरूमा बाढी र पहिरोले ठूलो क्षति पुगेको देखिएको छ। कोन्जोस्योम गाउँपालिकाको ज्ञानज्योति आधारभूत विद्यालयका चारओटा भवन पूर्ण रूपमा बगाएर क्षतिग्रस्त भएको छ। बुद्ध माध्यमिक विद्यालय, टीकाभैरवमा पहिलो तला लेदोले पुरिएको छ, जसका कारण पाँच कोठा र कम्पाउन्ड वाल पूर्णरूपमा नष्ट भएका छन्।
वागेश्वरी आधारभूत विद्यालय, चापागाउँमा माथिबाट आएको पहिरोले दुई तले भवनका कोठाहरू पूर्ण रूपमा क्षति भएका छन्, र शैक्षिक सामग्री पनि नष्ट भएका छन्। गम्भीर समुद्र सेतु माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिकामा बाढी पसेर पहिलो तला डुबानमा परेको छ, जसले विद्यालयको अभिलेख, शिक्षण सामग्री, र कम्प्युटर प्रयोगशाला पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ।
मन्त्री भट्टराईले विद्यालयको क्षतिमा तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गर्नुपर्ने र विद्यार्थीको निरन्तर सिकाइ सुनिश्चित गर्नुपर्ने बताईन। पाठ्यपुस्तक क्षतिग्रस्त भएका विद्यार्थीलाई स्थानीय तहमार्फत पुनः वितरण गरिने योजना पनि उनले अघि सारीन। साथै, दीर्घकालीन रूपमा विपद् प्रतिरोधी भवन निर्माणका लागि स्थानीय तह र सरोकारवालाले पहल गर्नुपर्नेमा जोड दिइन।