काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सिंहदरबार वैद्यखाना विकास समितिको दुर्दशाले समग्र मुलुकको अवस्था झल्काएको बताएका छन् ।
राष्ट्रिय आरोग्य दिवस, धन्वन्तरि दिवस र वैद्यखाना समितिको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने सम्भावना बोकेको यस्तो संस्था आफैँ धराशायी हुनु चिन्ताको विषय भएको बताए ।
“देश किन र कसरी डुब्यो, समस्या के हो भन्ने बुझ्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छ,” साहले भने, “९० प्रतिशत सरकारी उद्योग कि त भाडामा दिइन्छ, कि निजी संस्थाको प्रभाव र दबाबमा आएर डुबाइन्छ।” वैद्यखानाजस्ता सरकारी उद्योगहरू निरन्तर घाटामा जानुको कारण उल्लेख गर्दै उनले यसलाई जोगाउन सामूहिक पहल आवश्यक रहेको औंल्याए ।
आयुर्वेदिक उपचार प्रणाली हाम्रो संस्कृति र परम्पराको अभिन्न हिस्सा भएको उल्लेख गर्दै उनले वैद्यखानाको संरक्षण र विकासका लागि सबै सरोकारवालालाई ध्यानाकर्षण गराए। उनले आफ्नो बाल्यकाल वैद्यखाना परिसरमा बितेको स्मरण गर्दै, “पहिले यहाँ धेरै स्थान खाली थियो र औषधि उत्पादन पनि उच्च मात्रामा थियो, तर अहिले भवन मात्र छन्, औषधि उत्पादन घटेको छ,” बताए ।
नगरप्रमुख साहका अनुसार २०५८/५९ मा वैद्यखानाको बजेट पाँच करोड थियो, तर अहिले घटेर मात्र एक करोड बाँकी रहेको छ । यसले संस्थाको अस्तित्व नै संकटमा परेको संकेत गरेको उनको भनाइ छ ।