काठमाडौं - नेकपा (माओवादी केन्द्र) ले पुस २ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ ।
सोमबार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले विभिन्न पाँच निर्णय गर्दै केन्द्रीय समिति बैठकको मिति तय गरेको हो । बैठकका निर्णयबारे प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।
बैठकले आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि प्रदेश कमिटीले प्रस्ताव गरेका उम्मेदवारलाई अनुमोदन गर्ने निर्णय गरेको छ। साथै, पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन सबै नेता, कार्यकर्ता र जनवर्गीय संगठनहरूलाई एकताबद्ध भएर लाग्न अपिल गरिएको छ ।
बैठकले मंसिर मसान्तसम्म देशभरका स्थानीय तहमा पार्टीको सम्मेलन तथा खबरदारी सभा आयोजना गर्ने पनि निर्णय गरेको छ । अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार सरकारका बेथितिहरूविरुद्ध जनपरिचालन गर्दै खबरदारी सभा गर्ने योजना बनाइएको छ ।
साथै, बैठकले संविधान संशोधनमा कांग्रेस र एमालेले आफ्नो अडान बिर्सिएको निष्कर्ष निकालेको छ । संविधान संशोधनका लागि अग्रगमन र परिवर्तनका पक्षमा मात्र सहयोग गरिने माओवादी केन्द्रले बताएको छ ।
यस्तै, देशको प्रमुख कार्यकारीको निर्वाचन प्रत्यक्ष प्रणालीमार्फत् हुनुपर्ने प्रस्ताव पनि बैठकले गरेको छ । ‘यसले विकृति, विसंगति, र राजनीतिक अस्थिरताको अन्त्य गर्न मद्दत पुग्ने हाम्रो धारणा हो,’ मल्लले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।