काठमाडौं - भारतीय टेलिभिजन इतिहासमा एक ऐतिहासिक स्थान ओगटेको रामानन्द सागरको ‘रामायण’ शृंखला, जसले दर्शकलाई भगवान् राम र सीताको जीवनगाथासँग नजिक ल्याएको छ, अनेक रोचक तथ्यले भरिएको छ ।
१. उच्च दर्शक संख्या : सन् १९८७ मा प्रसारण सुरु भएको यो शृंखलाले भारतीय टेलिभिजनमा सबैभन्दा बढी दर्शक आकर्षित गर्ने रेकर्ड बनाएको थियो। लकडाउनका बेला पुनः प्रसारण हुँदा पनि यसले धेरै दर्शक जुटाउन सफल भएको थियो ।
२. विश्व कीर्तिमान : २०२० मा लकडाउनको समय पुनः प्रसारण भएपछि ‘रामायण’ एकै समयमा विश्वभरि सबैभन्दा धेरै हेरिने टेलिभिजन शो बन्यो, जसले गिनिज वर्ल्ड रेकर्ड कायम गर्यो ।
३. कम बजेट र साधारण विशेष प्रभाव: रामायणलाई कम बजेटमा निर्माण गरिएको थियो। साधारण विशेष प्रभाव र सस्तो प्रविधिको प्रयोगले गर्दा यसको निर्माण खर्च कम थियो, तर कथा र अभिनयको गहिराइले यसले दर्शकलाई मोहनी लगाएको थियो ।
४. कलाकारको लोकप्रियता: प्रमुख कलाकारहरु – रामको भूमिकामा अरुण गोविल, सीताको भूमिकामा दीपिका चिखलिया र लक्ष्मणको भूमिकामा सुनील लहरी – घरघरमा भगवान्का रुपमा पूजिन थाले। उनीहरु जहाँ गए पनि मानिसहरुले उनीहरुलाई भगवान् र देवीको रुपमा सम्मान गरे ।
५. धार्मिक प्रभाव : शृंखला प्रसारण हुने समयमा भारतका सडकहरू प्रायः सुनसान हुन्थे, किनकि हरेक परिवारले शृंखला हेर्न प्राथमिकता दिन्थे। यसले भारतको सांस्कृतिक र धार्मिक चेतनामा गहिरो प्रभाव पार्यो ।
रामानन्द सागरको ‘रामायण’ शृंखला नेपाली दर्शक माझ पनि लोकप्रिय छ। यसले हिन्दू धर्म, आस्था, र आदर्शहरूको प्रचार गर्न र समाजलाई एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।