पछिल्लाे समय कृषिमा विषादीको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ ।
बालीनालीमा कीरा र रोग नियन्त्रण गर्ने उद्देश्यले विषादीको प्रयोग गरिए पनि यसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको विज्ञहरूले बताएका छन् । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. कृष्णसागर शर्माका अनुसार, तरकारी र फलफूलमा प्रयोग हुने विषादीले क्यान्सरको जोखिम बढाउँछ ।
'सन्तुलित खानामा विषादी प्रयोग भएका खाद्यपदार्थलाई लिनु हुँदैन,’ शर्माले भने । अर्ग्यानिक उत्पादनलाई मात्र सुरक्षित मान्नुपर्ने उनको धारणा छ । जनस्वास्थ्यविद् डा. शरद वन्तले विषादीको दीर्घकालीन असरबारे सतर्क रहनुपर्ने आवश्यकता औंल्याए । ‘नेपालमा किड्नी फेलियरजस्ता रोगहरू बढ्दै जानु विषादीको दीर्घकालीन असर हुन सक्छ,’ उनले भने । उनका अनुसार, विषादीको प्रभावले रगतसम्बन्धी, श्वासप्रश्वास र नसा सम्बन्धी रोगसमेत निम्त्याउन सक्छ ।
महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार, नेपालमा विषादी आयात र प्रयोग हरेक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष २०७५/७६ मा ८ लाख ९ हजार ९३ केजी विषादीको आयातमा ९५ करोड ६१ लाख रुपैयाँ खर्च भएकोमा, २०७९/८० सम्ममा यो परिमाण ११ लाख ८३ हजार ७ सय ४१ केजीमा पुगेर १ अर्ब ६९ करोड रुपैयाँ खर्च भएको तथ्याङ्कले देखाएको छ ।
कृषि अभियन्ता उद्धव अधिकारीले विषादीको प्रयोग घटाउन माटोको स्वास्थ्यमा ध्यान दिनुपर्ने र जैविक विधिहरूलाई प्रोत्साहित गर्नुपर्ने बताए। उनका अनुसार, माटोको पीएच परीक्षण, रोग नफैलिन पूर्व-व्यवस्थापन, र जैविक विधिहरू अपनाउनु आवश्यक छ ।
विज्ञहरूले विषादीको प्रभावबारे जनचेतना अभिवृद्धि गर्दै, विषादीको विकल्पका रूपमा जैविक विधि अपनाउन जोड दिएका छन् ।