खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले वीरगंजका होटलहरूको वर्गीकरण र लोगो नवीकरण प्रक्रिया थालेको छ ।
होटलहरूको भान्साको सरसफाइ, खाद्यजन्य वस्तुको भण्डारण पद्धति र कोल्डचेन प्रणाली लगायतका मापदण्डको आधारमा होटलहरूको खाद्य स्वच्छता स्तर निर्धारण गरी वर्गीकरण गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वीरगंज खाद्य अनुसन्धान अधिकृत सुरेश कुमार सिंहको नेतृत्वमा निस्केको अनुगमन टोलीले बिरगंजका १० वटा होटलहरूको अनुगमन गरेको थियो । अनुगमनका क्रममा भान्सा, खाद्य वस्तुहरूको भण्डारण विधि, र टेस्टर मिटरद्वारा तेलको कोलारिटीसमेत परीक्षण गरिएको थियो ।
३ स्टार होटलको सूची
अनुगमनपछि सरोबर प्रोटिक होटल, होटल दियालो, र भिस्वा होटललाई उत्कृष्ट (३-स्टार) होटलको रूपमा वर्गीकृत गर्दै प्रमाणपत्र प्रदान गरिएको छ । अनुगमन टोलीका संयोजन सदस्य तथा होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले लोगो वितरण निष्पक्ष रुपमा गरिएको र भविष्यमा पनि पक्षपात नगर्ने प्रतिबद्धता व्यक्त गरे । उनले उपभोक्तालाई स्वच्छ र हाइजेनिक खानाका परिकार उपलब्ध गराउन होटलहरूलाई आग्रह गरे ।
अन्य होटलहरूको वर्गीकरण
२ स्टार: होटल पुजन, होटल मकालु, अनमोल स्वीट
१ स्टार: कन्ट्री इन्न होटल, कैलाश होटल, मेजवान होटल
सुधारको निर्देशन: डिलाइट गो रेस्टुरेन्ट
सामान्य वर्गमा रहेका होटलहरूलाई सुधारका लागि निर्देशन दिइएको छ । अनुगमन टोलीले होटल संचालकहरूसँग खाद्य स्वच्छतासम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । अनुगमन टोलीमा वाणिज्य कार्यालय वीरगंजका सुनिल चौरसिया, वीरगंज उद्योग वाणिज्य संघका मनोज कुमार दास, वीरगंज महानगरका प्रतिनिधि विभा मिश्र, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेकाे थियो ।