जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।
सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो। जनकपुरका लागि लाहिरु मिलन्थाले ८७ रनको उत्कृष्ट इनिङ खेले । उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरे ।
आसिफ शेखले ३३ तथा हर्ष थाकरले २९ रनको योगदान दिए । सुदूरपश्चिमका स्कट कुगेलिन, दीपेन्द्रसिंह ऐरी, सैफ जैब र इशान पाण्डेले समान १-१ विकेट लिए ।
यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । पहिलो विकेटका लागि सैफ जैब र विनोद भण्डारीले ११७ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए ।
सैफ जैबले ४३ बलमा ८ चौका र २ छक्कासहित ६९ रन बनाए भने विनोद भण्डारीले ४१ रनको योगदान दिए । अन्य खेलाडी ब्रान्डन म्याकमुलन र हरमित सिंहले समान १४-१४ रन तथा स्कट कुगेलिनले १३ रन बनाए ।
जनकपुरका बलर किशोर महतो र मोहम्मद मोहसिनले ३-३ विकेट लिए भने जेम्स नशिम र ललित राजवंशीले १-१ विकेट लिए ।
उपाधिसँगै जनकपुरले १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिमले ५० लाख, तेस्रो स्थानमा रहेको कर्णाली याक्सले २५ लाख र चौथो स्थानमा रहेको चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी उत्कृष्ट खेलाडी घोषित भए। उनले ९ खेलमा २२७ रन र ९ विकेट लिएका थिए । कार पुरस्कार पाएका ऐरीले उत्कृष्ट प्रदर्शन गरे ।
जनकपुरका लाहिरु मिलन्था उत्कृष्ट ब्याटर बने । उनले १० खेलमा २९३ रन बनाए भने फाइनलमा ८७ रनको इनिङ खेले ।
सर्वाधिक विकेट लिने खेलाडीमा सुदूरपश्चिमका स्कट कुगेलिन र जनकपुरका ललित राजवंशी रहे। दुवैले १७-१७ विकेट लिए ।