राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा तीन वटा कसुरमा मुद्दा दर्ता गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसन्धान प्रतिवेदनका आधारमा आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।
लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ विरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको आरोप लगाइएको छ ।
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई ३ करोड ३७ लाख रुपैयाँ बिगो कायम गरिएको छ । गोर्खा मिडियामा सहकारी रकम लगानी गर्न सङ्गठित अपराध गरेको आरोप लगाइएको छ । यस मुद्दामा सम्पत्ति शुद्धिकरणसमेत भएको भन्दै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो तोकिएको छ ।
आरोप पत्रमा लामिछाने र उनकी श्रीमती निकिता पौडेलको बैंक खातामा जम्मा भएको रकमको स्रोत नखुलेको उल्लेख छ । लामिछानेको काभ्रेमा रहेको सम्पत्ति र निकिता पौडेलको बुढानिलकण्ठमा रहेको ५ आना जग्गा जफत गर्न माग गरिएको छ ।
निकिता पौडेललाई देवानी प्रतिवादी बनाउँदै सम्पत्ति जफतका लागि मुद्दा दायर गरिएको छ । लामिछानेविरुद्ध सहकारी ऐन २०७४ को दफा १२२ र १२४ विपरीत कसुर गरेको आरोप लगाइएको छ । सहकारी ठगीमा दफा १२४ (१) को खण्ड (घ) (४) र (ङ) अनुसार सजायको माग गरिएको छ ।
सङ्गठित अपराध कसुरमा उनलाई सङ्गठित अपराध निवारण ऐन २०७० को दफा ३ र दफा ९ बमोजिम सजायको माग गरिएको छ ।
सम्पत्ति शुद्धिकरण अन्तर्गत मनी लाउण्डरीङ निवारण ऐन २०६४ को दफा ३ को उपदफा (१) का विभिन्न खण्डहरू उल्लङ्घन गरेको आरोप लगाइएको छ ।