बहुदरमाई नगरपालिकाको कार्यालयमा भएको तोडफोड तथा आगजनी घटनामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाको संलग्नता रहेको आरोप नगरप्रमुख सिगासन सा तेलीले लगाएका छन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा मेयर तेलीले वडा नम्बर ४ स्थित विद्यालयका शिक्षक, विद्यार्थी तथा केही माक्स लाएका व्यक्तिहरूलाई उक्साएर कार्यालयमा तोडफोड तथा आगजनी भएको बताए । उनले मन्त्री गुप्ता र अधिकृत मुस्तफाको निर्देशनमा कार्यालयमा तोडफोड भएको दाबी गरे ।
मेयर तेलीका अनुसार, सङ्घीय मन्त्री गुप्ता र प्रमुख प्रशासकीय अधिकृत मुस्तफा पक्षका मानिसहरूले मुखमा मास्क लगाई लेखा शाखा र विभिन्न कार्यालयहरूका ताल्चा फुटाएर टेबल, कुर्सी, सोफा, कम्प्युटर, ल्यापटप तथा अन्य सामग्री बाहिर निकालेर आगो लगाएको आरोप लगाए । सबैपक्षको रोहबरमा करिब ८५ देखी ९० लाखसम्मको क्षति भएको छ । मेयर तेलीका अनुसार विगत ६ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतले वृद्धा भत्ता, शिक्षक, अस्थायी कर्मचारी लगायतको रकम रोक्दै समस्या उत्पन्न गराएको छ ।
तर, यता प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाले भने मेयरले नियतवश नगरपालिकामा विवाद सिर्जना गरेको आरोप लगाएका छन् । उनले आफूमाथि लगाइएको आरोप सरासर गलत भएको बताए । आफूले विभिन्न बैठक तथा नगरसभा आह्वान गरेर मेयर आफैले राखेको बजेट सिलिङसमेत घटाएको आरोप लगाए ।
प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले सङ्घीय मन्त्रीको उपस्थितिमा मेयरले मेरो सरुवा गराउने र वडा अध्यक्षहरूले रोक्न खोजेकाले आफू उल्टै चेपुवामा परेको बताए । उनले आफूमाथि लगाइएको उक्साहटको आरोप खण्डन गर्दै प्रमाणित भए सजाय भोग्न तयार रहेको बताए ।
घटनाको छानबिन गर्न दुवै पक्षले माग गरेका छन् । यता पर्सा प्रहरीले यस विषयमा दुईजना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । विभिन्न भिडियोको रेकर्डको आधारमा अनुसन्धानका लागी दुईजना विद्यार्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी किशोर लम्सालले बताए । - सिधाकुराबाट साभार गरिएकाे