नेपाल पत्रकार महासंघ मधेस प्रदेशको पहिलो बैठक सम्पन्न भएको छ ।
महासंघका अध्यक्ष श्याम बञ्जाराको अध्यक्षतामा बसेको बैठकले विभिन्न पाँच बुँदे निर्णयहरू गरेको छ । बैठकले मंसिर २८ गते सम्पन्न निर्वाचन सफल बनाउन योगदान पुर्याएका निवर्तमान कार्यसमिति, निर्वाचन समिति, महासंघका सदस्य, सरोकारवाला तथा सम्बन्धित पक्षलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
बैठकले महासंघको बैंक खाता सञ्चालन गर्दा कोषाध्यक्षको अनिवार्य तथा अध्यक्ष वा महासचिवमध्ये एक जनासहितको संयुक्त हस्ताक्षर आवश्यक पर्ने निर्णय गरेको छ । यसैगरी तीन महिनाभित्र जनकपुरधाममा मधेस प्रदेश कार्यसमितिको कार्यालय स्थापनाका लागि भवन भाडामा लिने प्रक्रिया अघि बढाउने र कार्यकालभित्र महासंघको स्थायी भवन निर्माणका लागि जग्गा प्राप्तिका लागि समन्वय गर्ने निर्णय गरिएको छ ।
महासंघका अध्यक्ष बञ्जाराका अनुसार पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा आर्थिक समस्याहरू समाधान गर्न कल्याणकारी कोषलाई सुदृढ बनाउने, निशुल्क दुर्घटना तथा स्वास्थ्य बीमा प्रभावकारी बनाउन मधेस सरकारसँग सहकार्य गर्ने निर्णय भएको छ । साथै, सरकारी अस्पतालहरूमा पत्रकारको निशुल्क उपचार र परिवारका सदस्यहरूको उपचारमा ५० प्रतिशत छुटको व्यवस्था मिलाउन पहल गर्ने निर्णय समेत गरिएको छ ।
बैठकले निजी तथा सरकारी विद्यालयहरूमा अध्यापन गर्ने पत्रकारका छोराछोरीलाई ५० प्रतिशतसम्मको छुटको व्यवस्था मिलाउन समन्वय गर्ने, लोककल्याणकारी विज्ञापन रकम शतप्रतिशत वृद्धि गर्न पहल गर्ने तथा मिडिया काउन्सिल मधेस प्रदेशमा अध्यक्ष श्याम बञ्जारालाई पदेन सदस्यका रूपमा नियुक्तिका लागि पत्र पठाउने निर्णय गरेको छ ।
बैठकमा पत्रकार महासंघ मधेस प्रदेशका पदाधिकारीहरू तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।