काठमाडौं । चीनमा हालै देखिएको श्वासप्रश्वाससम्बन्धी एचएमपीभी (ह्युमन मेटाप्न्युमोभाइरस) भाइरस नेपालका लागि नयाँ नभएकाले अत्यधिक त्रसित हुन नपर्ने चिकित्सकहरूले बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यो भाइरस नेपालमा विगतदेखि नै देखा परेको हो । मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यससम्बन्धी केही सञ्चारमाध्यमले गरेका अतिरञ्जित समाचारको खण्डन गरेको छ । विज्ञप्तिमा भनिएको छ, “यो साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो, जसको परीक्षण, निगरानी र उपचारका लागि नेपाल तयार छ ।”
एचएमपीभी के हो ?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. शेरबहादुर पुनका अनुसार एचएमपीभी मौसमी फ्लुजस्तै सामान्य भाइरस हो । यो विशेषगरी बालबालिका, वृद्धवृद्धा र कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिमा देखिने गर्छ। डा. पुन भन्छन्, “यो भाइरस नयाँ नभएकाले अत्यधिक त्रास फैलाउनु आवश्यक छैन, तर सावधानी भने अपनाउनुपर्छ ।”
सन् २०११ देखि २०१४ सम्म नेपालमा गरिएको नमुना अध्ययनका क्रममा नवजात शिशुहरूमा करिब ५ प्रतिशतको दरमा यो भाइरस देखा परेको थियो। त्यसयता जाडो मौसममा यो भाइरसबाट प्रभावित हुने बालबालिकाको संख्या देखिँदै आएको छ ।
संक्रमणका लक्षण र जोखिम
एचएमपीभीले ज्वरो, घाँटी दुख्ने, खोकी लाग्ने, नाक बन्द हुने र सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखाउँछ । गम्भीर अवस्थामा यो भाइरसले ब्रोङ्काइटिस, निमोनिया र दमजस्ता समस्या निम्त्याउन सक्ने डा. पुनले बताए ।
सावधानी अपनाउनुपर्ने
डाक्टरहरूका अनुसार, खोक्दा वा हाच्छ्युँ गर्दा मुख छोप्ने, भीडभाडमा नजाने, जानै परे मास्कको प्रयोग गर्ने, र नियमित रूपमा साबुनपानीले हात धुने जस्ता सावधानीका उपाय अपनाउनुपर्छ । “नेपाल र भारतमा यो भाइरस लामो समयदेखि छ, त्यसैले यसलाई कोरोना भाइरससँग तुलना गर्नु उपयुक्त हुँदैन,” डा. पुनले थपे ।
विश्व स्वास्थ्य संगठन र चिनियाँ सरकारी निकायहरूले एचएमपीभीको भेरियन्टबारे थप अनुसन्धान जारी राखेको भन्दै डा. पुनले यसलाई गम्भीर रूपमा लिनुपर्ने स्थिति अहिलेसम्म नरहेको स्पष्ट पारे ।