आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले वीरगन्जस्थित नारायणी रंगशालाको अनुगमन तथा निरीक्षण गरेका छन् ।
बिहीबार आफ्नो टोलीसहित रंगशालाको अवलोकन गर्दै अध्यक्ष साहले रंगशालाको दयनीय अवस्था देखेर गहिरो चिन्ता व्यक्त गरेका हुन् । पूर्वमन्त्री समेत रहेका साहले रंगशालाको पुनर्निर्माणका लागि तत्काल कदम चाल्न सरकारलाई आग्रह गरेका छन् । उनले भने, “देशकै दोस्रो ठूलो रंगशाला रहेको नारायणी रंगशालालाई खेलकुदको केन्द्रका रूपमा पुनः स्थापित गर्न आवश्यक छ । यसका लागि बजेट र योजना बनाउनुपर्छ ।”
प्रधानमन्त्री ओलीमाथि आलोचना
अध्यक्ष साहले हालै पर्सा भ्रमणमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले रंगशालाको अवस्था प्रति कुनै चासो नदेखाएकोमा आलोचना गरे । उनले भने, “प्रधानमन्त्री पर्सा आउनुभयो, तर एकचोटि पनि रंगशालामा पुग्नुभएन । यो दयनीय अवस्थाका बारेमा उहाँले केही बोल्नुभएको छैन ।”
स्थानीय र प्रदेश सरकारप्रति असन्तोष
अध्यक्ष साहले पर्साबाट तीन जना सङ्घीय सांसद र दुई जना प्रदेश मन्त्री हुँदासमेत समस्या ज्यूँका त्यूँ रहेको भन्दै स्थानीय र प्रदेश सरकारप्रति असन्तोष व्यक्त गरे । उनले केन्द्र सरकारले वीरगन्जलाई सधैँ लुट्ने ठाउँका रूपमा मात्र हेर्ने गरेको आरोप लगाए ।
जीर्णोद्धारका लागि प्रतिबद्धता
रंगशालाको जीर्णोद्धारका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाउँदै साहले खेलकुद क्षेत्रको विकासले युवा प्रतिभाको प्रवर्द्धन हुने भन्दै यसलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनका अनुसार नारायणी रंगशालाको अवस्थाले वीरगन्जको समग्र खेलकुद विकासमा प्रतिकूल असर परेको छ ।
उनले रंगशालाको पुनर्निर्माणका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय निकायले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।