कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलाशले बिहीबार उक्त आदेश दिएको हो ।
अदालतको आदेशसँगै रवि लामिछाने ८५ दिनपछि कास्की प्रहरी हिरासतबाट मुक्त हुनेछन् ।
अन्य प्रतिवादीलाई पनि थुनामुक्त गर्ने आदेश
अदालतले अन्य प्रतिवादीहरू छबिलाल जोशी, लिला पछाईं र राम बहादुर खानाल लगायतलाई पनि थुनामुक्त गर्न आदेश दिएको छ ।
सूर्यदर्शन सहकारी प्रकरण र मुद्दा दायर
रवि लामिछानेलाई सूर्यदर्शन सहकारी प्रकरणमा गत कात्तिक २ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले गरेको अनुसन्धानपछि पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिसकेको छ ।
धरौटी रकम र आगामी प्रक्रिया
कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । तथापि, उनको रिहा तत्काल हुने अवस्था छैन, कारण काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
यस प्रकरणमा लामिछानेसहित ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग गर्दै ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र दर्ता गरेको थियो ।
थुनछेक आदेश र दाबी
लामिछानेसहित अन्य प्रतिवादीहरूको थुनछेक आदेशपछि अब उक्त प्रकरणको आगामी प्रक्रिया अघि बढ्ने छ । कास्की जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम अपचलनमा तीन करोड ३७ लाख ६५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । साथै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ दाबी गरिएको छ ।
यस प्रकरणमा लामिछानेसहित अन्य प्रमुख व्यक्तिहरू, जसमध्ये पूर्वडिआइजी, गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, रवि लामिछानेको सहयोगी लिला पछाईं, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर र आरती गुरुङ पनि प्रतिवादी रहेका छन् ।
रवि लामिछानेकाे मुद्दा काठमाडाैंमा रहेकाले काठमाडौं लगिने त्यहाँबाट पनि छुटेमा चितवन, रुपन्देही र पर्सा लगेर उनी विरुद्ध मुद्दा दायरको तयारी प्रहरीको छ।
- थप जानकारी सहित अध्यावधी गरिएकाे समाचार