वीरगञ्ज महानगरपालिकाको १६ औं नगरसभा अधिवेशन शुक्रबार सम्पन्न भएको छ । नगरप्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न अधिवेशनले महानगरको विकास र जनताको समस्याको समाधानका लागि विभिन्न प्रस्ताव र विधेयक पारित गरेको छ ।
महानगर प्रमुख राजेशमान सिंहले नगरसभाको उद्घाटन गर्दै नगरवासीको चाहनालाई सम्बोधन गर्न चालू आर्थिक वर्षका लागि संशोधित कार्यक्रम प्रस्तुत गरेका छन् । उनले १५ औं नगरसभाबाट तय भएका लक्ष्यलाई साकार पार्न आवश्यक बजेट र योजना संशोधनको प्रस्ताव गरेका थिए ।
नगरसभामा आर्थिक ऐन २०८१, विनियोजन विधेयक २०८१, विज्ञापन कर विधेयक २०८१, संगठन संरचना र दरबन्दी परिमार्जन प्रस्ताव, तथा सहकारी ऐन २०७४ मा संशोधन प्रस्ताव पेश गरिएकाे थियो । यी सबै विधेयक नगरसभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।
नक्सा पास नगरी बनेका घरहरूको अभिलेखीकरणमा छुट
नगरसभाले नक्सा पास नगरी निर्माण भएका पूराना घरहरूको अभिलेखीकरण चैत मसान्तसम्म गराउँदा ५० प्रतिशत जरिवाना छुट दिने प्रस्ताव पारित गरेको छ । नगरप्रमुख सिंहले यो छुटको फाइदा लिन सम्पूर्ण नगरवासीलाई चैतभित्र निवेदन दिन आग्रह गरेका छन् ।
बैभवशाली वीरगञ्ज निर्माणमा प्रतिबद्धता
नगरप्रमुख सिंहले बैभवशाली, सुन्दर, समुन्नत र समृद्ध वीरगञ्ज निर्माण गर्ने अभियानमा जनप्रतिनिधिहरू एकजुट भएको बताए। उनले आगामी दिनमा जनताको समस्या समाधानमा आफूलाई थप ऊर्जा मिलेको बताउँदै महानगरको टिम अग्रसर रहेको जनाए ।
नगरसभामा उपप्रमुख ईम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, ३२ वडाका अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, महानगरका कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।